इच्छाशत्ती भए अध्ययन गर्न उमेरले छेक्दैन रहेछ । छोरा कक्षा ५ मा पढ्दै गर्दा आमा पनि कक्षा ७ मा पढ्छिन् भन्ने सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर, मेचीनगर–९ सप्तरङ्गगी टोलकी प्रेमकला दर्जीलाई औपचारिक शिक्षा लिन उमेरले छेकेको छैन ।
इच्छाशक्ति, आत्मवल र दृढ संकल्प भयो भने मान्छेले अधुरा सपनाहरु मज्जाले पुरा गर्न सक्छ भन्ने बलियो उदाहरण बनेकी छन्, प्रेमकला । दुई सन्तानकी आमा प्रेमकला छोेराछोरीसँगै आफू पनि स्कुल जान्छिन् । उनका छोराछोरी बोर्डिङमा पढ्छन् । उनी सामुदायिक स्कुल धाँउछिन् ।
मोरङ पथरीमा सामान्य दलित परिवारमा जन्मेकी हुन् प्रेमकला । महिला त्यसमाथि दलित कति पीडा थियो होला उनको । दुःख कष्ट र समस्याहरुको घेरावन्दीमा परेरै यिनको वाल्यकाल वित्यो । नाजुक आर्थिक अवस्थाका कारण चाहे जति पढ्न सकिनन् । कक्षा ७ पढेर छाड्नु पर्यो । उच्च शिक्षा पढ्ने यिनको भोक मेटिएको थिएन ।
मेचीनगर स्थित ज्यामीरगढीका दुर्गा बहादुर दर्जीसँग २०६२ सालमा विवाह गरिन् । आफ्नो बाल्यकाल अभाव र दुःख कष्ट सहित बिते पनि आफ्ना सन्तानलाई शिक्षा दिने सवालमा कुनै सम्झौंता गरिनन् । १२ बर्षीय छोरा कृष दर्जीलाई ईष्टहोराईजन मा.वि धुलाबारीमा कक्षा ५ मा पढाउँदैछिन् । छोरी कृषालाई आदर्श विद्या मन्दिर धुलाबारीमा कक्षा यूकेजीमा पढाउँदैछिन् ।
प्रेमकलाका पति पेशाले ड्राईभर हुन् । प्रेमकलालाई स्कुल पठाउने कुरामा उनको ठूलो देन छ । ‘श्रीमानले जान नदिनु भएको भए मेरो इच्छा अधुरै हुनेथ्यो’, प्रेमकला भन्छिन्,‘श्रीमानसहित सासु ससुरा सवैको सहयोग पाएकी छु ।’
पति दुर्गावहादुरले श्रीमतीलाई विद्यालय अध्ययन गर्न पठाउनुको रहस्य सुनाए,‘जागिर खान श्रीमतिलाई स्कुल पाएको होइन, सक्षम बनाउन मात्रै हो ।’ धुलावारी माविमा पढ्न थालेकी ३२ बर्षीय प्रेमकलाको दैनिकी विगतको भन्दा भिन्न छ । बिहान बेलुका घर र दिउँसोको समय विद्यालयमा बित्छ ।
श्रीमान्सँगै सबैको साथ, सहयोग र हौसलाले गर्दा अध्ययन गर्ने सपनालाई निरन्तरता दिन पाएकोमा प्रेमकला औधी खुसी छिन् । त्यसमाथिथ परिवारको सहयोगले उनलाई थप हौसला मिलेको छ । धुलावारी माविवाटै १२ सम्म अध्ध्ययन गर्ने यिनको लक्ष्य छ । ‘कम्तिमा १२ पास गर्न सकें भने मेरो जीवनकै ठूलो उपलव्धी हुनेछ ।’ प्रेमकला भन्छिन्, ‘मेरा लागि यो भन्दा ठूलो खुसीको क्षण केही हुने छैन ।’
प्रतिक्रिया