Logo

नेपाल वायुसेवा निगमले ल्यायो पहिलोपटक वाइडबडी विमान

काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी ‘ए ३३०–२००’ सिरिज नामको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । नयाँ विमानको नाम ‘अन्नपूर्ण’ नाम राखिएको छ । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।

त्रिभुवन विमानस्थलमा विमानलाई पानीको फोहोरासमेत दिएर स्वागत गरिएको छ । विमान फ्रान्सको तुलुजुबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको नेपाल वायु सेवा निगमले जनाएको छ । दुईवटा खरिद गरिएको मध्ये दोस्रो विमान डेढ महिना पछि आउने निगमले जानकारी दिएको छ ।

नेपाल वायु सेवा निगमले यी दुई वाइडबडी जहाज किन्न करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ । त्यसका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको छ । नयाँ जहाजमा सांग्रिला क्लासका १८ र साधारण क्लासका  २ सय ५६ सिट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्