Logo

मन्त्रीले सवारी रोक्दा चालक छक्क !

काठमाडौँ – आइतवार बिहानै रत्नपार्कबाट जावलाखेलतर्फ एउटा माइक्रो हुइँकिँदै थियो । यो माइक्रोलाई थापाथलीमा हरियो गाउन लगाएका एक भलाद्मी व्यक्तिले रोकेर जाँच गर्न थाल्दा चालक छक्क परे ।यस्तैमा, अर्को ट्याक्सीलाई रोक्न अर्काे व्यक्ति सडकमा देखिनुभयो । थापाथली चोक एकैछिनमा जाम भयो । ती दुई व्यक्तिसँगै अन्य सरकारी अधिकारीहरू पनि सडकमा देखिए । सवारी चालक चाहिँ आफ्ना सवारी साधन रोकेर टाउको बाहिर ल्याएर हेर्दै थिए । न दुर्घटना न कुनै ट्राफिक नियमको उलङ्घन, कारण थाहा पाउन चालकहरूलाई हम्मे परिरहेको थियो ।

माइक्रोलाई रोक्ने गृहमन्त्री रामबहादुर थापा तथा ट्याक्सीलाई रोक्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत हुनुहुन्थ्यो । साथमा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली पनि हुनुहुन्थ्यो । गृहमन्त्री थापाले बा २ ख ९३५२ नम्बरको माइक्रोको सवारी प्रदूषण जाँच गर्नुभयो । मापदण्डभन्दा बढी धूवाँ फालेको मापनयन्त्रले देखाएपछि नजिकै रहेका उपत्यका ट्राफिक महाशाखाका एसएसपी वसन्त पन्तले ट्राफिक जवानलाई चिट काट्न निर्देशन दिनुभयो ।
उता मन्त्री वस्नेतले जाँच गर्नुभएको बा १ ज ४१३१ नम्बरको ट्याक्सीलाई प्रदूषण मापनयन्त्र तीन पटक लगाउँदा पनि मापदण्ड भित्रै धुँवा फालेको भेटियो । गृहमन्त्रीले जाँच गर्नुभएको सवारी साधन असफल र वन तथा वातावरण मन्त्रीले जाँच गर्नुभएको सवारी साधन प्रदूषण जाँचमा सफल भयो ।
सप्ताहव्यापी रूपमा विश्व वातावरण दिवस मनाउने क्रममा पहिलो चरणमा उपत्यकाभित्रका सवारी प्रदूषण नियन्त्रण गर्न मन्त्रीद्वय सडकमा आउनुभएको हो ।मङ्गलबार जुन ५ मा विश्व वातावरण दिवस मनाइँदैछ । उपत्यकाभित्र धूलोभन्दा पनि मानव स्वास्थ्यमा सवारी साधनबाट निस्कने प्रदूषित धूवाँ घातक हुने विभिन्न अध्ययनले देखाइरहेका बेला सवारी साधनमा जाँच गर्न थालिएको हो ।

उपत्यकाभित्र चल्ने अधिकांश हरियो स्टिकर टाँसिएका सवारी साधनको धूवाँ जाँच गर्दा मापदण्डभन्दा बढी देखिएको वातावरण विभागले जनाएको छ । आइतवार गरिएको जाँचमा १३ वटा डिजेलले चल्ने सवारी साधनमा चार वटा मात्र मापदण्ड भित्र धुँवा फाल्ने भेटिएका छन् भने बाँँकीले मापदण्डभन्दा बढी प्रदूषित धुँवा फाल्ने गरेको पाइएको छ ।त्यसैगरी, पेट्रोलबाट चल्ने ११ वटामा सवारी साधनमा गरिएको जाँचमा तीन वटा मात्रले मापदण्डभित्रको धूवाँ फालेको भेटिएको छ ।मापदण्डभन्दा बढी प्रदूषित धूवाँ फाल्ने सवारी साधनलाई तत्काल चिट काटिएको छ र सवारी साधनलाई मापदण्डभित्र धूवाँ फाल्ने गरी मर्मत सम्भार गर्न निर्देशन दिइएको छ ।
वातावरण ऐनमा पटक पटकको निर्देशन नमान्ने सवारी साधनको नम्बर दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ ।

आइतवार सांकेतिक रूपमा सवारी साधनलाई प्रदूषणको मापदण्डभित्र राख्नका लागि कडाइ गर्न गृहमन्त्रीलाई लिएर आफू सडकमा सवारी जाँच गर्न आएको मन्त्री बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो काम एक दिन देखाउनका लागि गरिएको होइन, सवारी साधनबाट निस्केको प्रदूषण मानव स्वास्थ्यका लागि ज्यादै हानिकारक भएकाले यसको नियन्त्रण आवश्यक भएकाले योक्रमलाई अभियानका रुपमा देशभरि सञ्चालन गरिनेछ । ’

त्यस अवसरमा गृहमन्त्री थापाले प्रदूषण नियन्त्रण गर्न नसक्नु पनि एक किसिमका भ्रष्टाचार भएको बताउनुभयो । यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले कडाइका साथ काम गर्ने बताउनुभयो ।वातावरण विभागले गत मङ्सिरबाट गरेको प्रदूषण मापनमा एक हजार ३७४ सवारी साधनमा ६३५ सवारी साधनले मापदण्डभन्दा बढी प्रदूषित धूवाँ फालेको पाइएकाले कारवाही गरिएको विभागका वरिष्ठ डिभिजनल केमिष्ट शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पेट्रोलभन्दा डिजेलबाट चल्ने गाडीमा बढी प्रदूषित धूवाँ फाल्ने दर देखिएको छ । सवारी साधनले फाल्ने धूवाँको स्मोक डिन्सिटी भ्यालु दुई दशमल ४४ मानिएको छ तर हाल उपत्यकामा चल्ने सवारी साधनमा योभन्दा बढी देखिएको छ । आइतवार जाँच गरिएका सवारी साधनको धुँवामा त स्मोक डिन्सिटी भ्यालु पाँचभन्दा बढी भेटिएको छ ।वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनञ्जय पौडेलले यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौं ः पुनःप्रयोग गर्न नसके बहिष्कार गरौं’ भन्ने रहेको जानकारी दिनुभयो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्