Logo

सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको आशंकमा ९० जना पक्राउ

काठमाडौं – सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको प्रकरणमा प्रहरीले ९० जनालाई नियन्त्रणमा लिएको छ । सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको विषयमा प्रहरीले अनुसन्धान तीब्र बनाउँदै काठमाडौंका विभिन्न ठाउँबाट बिहीबार साँझसम्म शंकास्पद ९० जनालाई नियन्त्रणमा लिई सोधपुछ थालेको छ ।

घटनामा संलग्नको खोजीका लागि प्रहरीले काठमाडौमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएको छ । यस कार्यमा वानेश्वर वृत्तका डीएसपी गोविन्दराज काफ्ले र महानगरीय प्रहरी परिसर काठमाडौंका सादा पोशाकका प्रहरी निरीक्षक अनिल ठकुरी पनि खटिएका परिसरले जनाएको छ ।

डिएसपी काफ्लेले प्रारम्भिक चरणको अनुसन्धानका क्रममा ९० पक्राउ परेको जानकारी दिए । उनले भने, ‘बिहीबार बिहानैबाट घटनामाथि अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई वृत्तमै राखेर सोधपुछ हुँदैछ । दोषी देखिए मुद्दा चलाइने छ ।’

साउन १५ गते बेलुका ८ बजे सांसद नेपाल मजदुर किसान पार्टीकी सांसद निरु पाललाई काठमाडौंको बानेश्वरमा नचिनेका मानिसहरुले सांघातिक आक्रमण र पेस्तोल ताकेर धम्की दिएको घटना अहिले संसदमा वहसको विषय बनिरहेको छ । सांसद पालले बुधबार संसदीय सुनुवाइ समिति र बिहीबार संसदमा यस विषयमा जानकारी नै गराएकी छन् । काठमाडौंमा सांसदमाथि नै आक्रमण भएको घटना बाहिर आएपछि प्रहरी सक्रियताका साथ अनुसन्धानमा लागेको हो ।

प्रतिक्रिया दिनुहोस्