२४ घण्टाले जुराएको नेपाली सेनाको नेतृत्व: आर्मी क्लबको बिहेभोज रोकियो, फास्ट ट्रयाक के होला ?


Photo Credit : नेपाली सेना

 काठमाडौं – आइतबारदेखि नेपाली सेनाले पूर्णचन्द्र थापाको सेनापतित्वमा नयाँ नेतृत्व पाएको छ । थापाको आगमनसँगै दुईवटा विषयमा जनचासो देखिएको छः एक- प्रधानसेनापति थापा कस्ता मान्छे हुन् ? र दोस्रो- थापाको नेतृत्वमा अब नेपाली सेना कुन बाटोतर्फ अघि बढ्ला ? अर्थात, सेनाले अबको तीन वर्ष कस्तो नेतृत्व पाउँदैछ ?

नेपाली राजनीतिमा एउटा जबरजस्त मान्यता के रहँदै आएको छ भने अदालत र सेना त्यस्ता परम्परावादी संस्था हुन्, जहाँ नयाँ व्यक्ति आउँदैमा ‘रेडिकल’ परिवर्तन सम्भव हुँदैन ।

अदालत र जंगी अड्डा दुबै विगतकै निरन्तरतामा रुढीवादी ढंगबाट चल्छन् भन्ने मान्यता नेपाली राजनीतिमा छ । संयोग नै कस्तो परेको छ भने देशले भर्खरै नयाँ प्रधानन्यायाधीश पाएको छ, तथापि उनीमाथि संसदीय सनुवाइ बाँकी छ । यसैवीच आइतबारबाट मुलुकले औपचारिकरुपमै नयाँ प्रधानसेनापति पाएको छ । एक महिना कायममुकायम चलाएका प्रधानसेनापति थापाले आइतबारबाटै आफ्नो कार्यभार सम्हालेका छन् ।

रोचक पक्षचाहिँ के छ भने पूर्णचन्द्र थापा त्यस्ता प्रधानसेनापतिका रुपमा अगाडि आएका छन्, जसले कामु प्रधानसेनापति हुँदा नहुँदै एउटा ‘क्रान्तिकारी’ निर्णय गरेर नेपाली सेनाको परम्परामाथि धक्का दिइसकेका छन् । थापाको त्यो क्रान्तिकारी निर्णय हो – आर्मी अफिसर्स क्लबमा बिहे बटुलो र ब्रतबन्ध इत्यादिमाथि लगाइएको प्रतिबन्ध ।

अघिल्ला प्रधानसेनापतिहरुका पालामा भद्रकालीस्थित आर्मी क्लबमा पीटी परेड खेल्ने ठाउँमै ए, बी इत्यादि क्म्प्लेक्स भवनहरु बनाएर पार्टी, बिहे, भोजभतेर इत्यादि व्यापार बिजनेस फस्टाएको थियो ।

सेनाले पार्टी प्यालेस चलाएर ब्यापारिक काम गर्न नहुने भन्दै नागरिक समुदायबाट आलोचना भइरहेका बेला थापाले त्यो बिजनेस बन्द गरिदिएका छन् । देशको राष्ट्रिय सेना ब्यापारिक संस्था होइन भन्ने सन्देश थापाले सुरुमै दिन खोजेका छन् ।

अर्को संयोगः ह्याप्पी बर्थ डे !

नवनियुक्त प्रधानसेनापति थापाको जीवनमा अर्को पनि एउटा संयोग छ । भोलि सोमबार अर्थात् भाद्र २५ गते थापाको ‘बर्थ डे’ हो । प्रधान सेनापति बनेको लगभग २४ घण्टापछि थापा ५८ वर्ष पूरा भएर ५९ वर्षमा प्रवेश गर्दैछन् ।

कथंकाल आइतबार नै थापा प्रधानसेनापति नभएका भए उमेर हदका कारण जागिर छाडेर घर जानुपर्ने हुन्थ्यो । तर, सौभाग्यवस आमाले २४ घण्टाअघि नै जन्माएका कारण उनले अबको ३ वर्ष अर्थात् ६१ वर्षे उमेर हद नकट्दासम्म नेपाली सेनाको कमाण्डर इन चीफ बन्न पाउने भएका छन् ।

थापालाई प्रधानसेनापति बन्नका लागि एक दिन, अर्थात २४ घण्टा समयले साथ दिनु कम्ता रोचक संयोग होइन ।

थापाको जन्म २०१८ साल भदौ २५ गते लमजुङमा भएको जंगी अड्डाबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सैन्य सेवामा लामो जागिरसँगै उमेरले साथ दिएरै प्रधानसेनापति बनेका थापाको नेतृत्वमा अब नेपाली सेनाको भविश्य कुन बाटोतर्फ अघि बढ्ला ? अब नेपाली सेनाभित्र के-कस्ता सुधारहरु आउलान् या नआउलान् ?

यसबारेमा चर्चा गर्नुभन्दा पहिले नयाँ प्रधानसेनापति थापा को हुन् भन्नेबारे छोटो चर्चा गरौं-

स्वदेशमै दीक्षित सैन्य कमाण्डर

थापा सोझो खालका छन् । कम बोल्छन् । षड्यन्त्र गर्दैनन्, भ्रष्टाचारी छैनन् ।तर, मौका नपाउञ्जेल स्वच्छ भएको मान्छे पनि मौका पाएपछि भ्रष्ट हुने गरेका छन् । प्रधानसेनापति थापालाई पनि पर्खेर हेर्नुपर्ने हुन्छ-पूर्वसैनिक

लमजुङमा जन्मिएका थापा २० वर्षको उमेरमा ०३७ मंसिर २७ गतेदेखि सहायक सेनानी दर्जाबाट नेपाली सेनामा प्रवेश गरेका हुन् । अन्य सेनापतिहरुले जस्तो उनले भारत, पाकिस्तान वा अन्य देशमा गएर अध्ययन गरेका होइनन् । उनले स्वदेशमै स्टाफ कलेज गरेर सेनापति बन्ने सफलता पाएका हुन् ।

थापाले विदेशमा स्टाफ कोर्ष गर्ने अवसरै नपाएका चाहिँ होइनन् । तर, उनी छनोटमा परेर पनि विदेश जान मानेनन् ।

यहाँ पनि अर्को एउटा संयोग के छ भने विदेश पढ्न गएका भए थापा प्रधानसेनापति बन्न पाउने थिएनन् । किनभने, विदेशमा पढ्न जाँदा उनले जुनियर अवस्थामै प्रधानसेनापति नभएरै रिटाडर्य हुनुपर्ने थियो ।

प्रधानसेनापति थापाले विदेशमा कोर्ष नगरे पनि सिरियास्थित संयुक्त राष्ट्र संघको अनडफ मिसनको प्रमुख तथा फोर्स कमाण्डरको भूमिका निभाएका छन् । स्वदेशमा उनले विभिन्न गुल्म, गण, बाहिनी र पृतनाको नेतृत्व गर्दै करिब ३८ वर्ष लामो सैन्य सेवाको अनुभव सँगालेका छन् ।

पूर्वगाविस अध्यक्षका छोरा !

प्रधानसेनापछि थापाका बुबा पनि पूर्वसैनिक नै हुन् । पूर्णचन्द्रका बुबा र निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्रीका बुबा गोपालबहादुर खत्री नातेदार हुन् । यस अर्थमा तनहुँका राजेन्द्र क्षत्री र लमजुङका पूर्णचन्द्र थापा पनि सामान्य नातेदारभित्रै पर्छन् ।

थापाले शनिबार टुँडिखेलमा क्षत्रीलाई भव्य समारोहकावीच विदाइ गरेका छन् । उनले दिएको यो सम्मानलाई नेपाली सेनाको इतिहासमा नौलो प्रयोग मानिएको छ ।

नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्रका बुबा ०१७/०१८ सालमा हवल्दार भएका थिए । लेफ्टिकेन्ट कर्णेलबाट रिटायर्ड भए उनी पूर्वगाविस अध्यक्षसमेत हुन् ।

प्रधानसेनापति थापाका पिता ०४९ सालमा लमजुङको बेंसीशहरमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पछि जेठा छोरा रोहित थापाकी पत्नी (बुहारी) को अकस्मात निधन भएपछि उनी बेंसीशहर छाडेर नातिनातिनाको हेरचाह गर्न काठमाडौं आए ।

पूर्णचन्द्रका दाजु रोहित थापा सशस्त्र प्रहरीको एआइजीसम्म बने । उनी एसएसपी हुँदा श्रीमती बितिन् । त्यसपछि दुई छोराहरु हजुरबुबाले हुर्काए ।

प्रधानसेनापति बनेपछि शशिभवनमा बस्ने सौभाग्य पाए पनि पूर्णचन्द्र थापा लामो समयसम्म लैनचौरस्थित डेरी उद्योग नजिकै माधव घिमिरेको घरछेउमा बस्थे । मोटर नछिर्ने साँगुरो बाटोभित्रको सो घरमा अहिले पूर्णचन्द्रका पिता बस्दै आएका छन् ।

पूर्णचन्द्रका दाजु पूर्वएआइजी रोहितको घर खोर्सानीटारमा छ । पूर्णचन्द्र बूढानीलकण्ठमा बस्दै आएका थिए । त्यहाँ उनी बस्ने घर डेरा हो कि निजी घर नै हो भन्ने प्रष्ट नभएको निकटस्थहरु बताउँछन् ।

प्रधानसेनापति थापालाई नजिकबाट चिन्नेहरु उनी सापेक्षितरुपमा स्वच्छ छविका कमाण्डर ठान्छन् । जालझेल र षडयन्त्रमा विश्वास नगर्ने उनको स्वाभाव रहेको जानकारहरुको दाबी छ ।

‘सोझो खालका छन् । कम बोल्छन् । षड्यन्त्र गर्दैनन्, भ्रष्टाचारी छैनन्,’ एकजना पूर्वसैनिकले थापाका बारेमा भने, ‘तर, मौका नपाउञ्जेल स्वच्छ भएको मान्छे पनि मौका पाएपछि भ्रष्ट हुने गरेका छन् । आर्मीमा तलका मान्छेलाई भ्रष्टाचारको मौका थोरै हुन्छ । त्यसैले प्रधानसेनापति थापालाई पनि पर्खेर हेर्नुपर्ने हुन्छ । यद्यपि अहिलेसम्म उनी स्वच्छ छवि बनाएरै यहाँसम्म आइपुगेका हुन् ।’

सुरेन्द्रबहादुरको किस्सा !

नेपाली सेनाको कमाण्डर जतिसुकै इमान्दार र स्वच्छ छविको भए पनि आसेपासे र धुपौरेहरुका कारण संस्थामा सुधार जटिल हुने गरेको सैनिक अधिकारीहरुको तीतो अनुभव छ । यससन्दर्भका पूर्वप्रधानसेनापति सुरेन्द्रबहादुर शाहको किस्सा जर्नेलहरुमाझ निकै चर्चित छ ।

दरबारिया राजनीतिज्ञ शरदचन्द्र शाहका पिता सुरेन्द्रबहादुर शाह निरसमशेर जबरापछिका प्रधानसेनापति थिए । उनी निष्कलंक सेनापति मानिन्थे । निरसमशेरपछि उनी ०२२ सालतिर प्रधानसेनापति बनेका थिए ।

एक दिन शाहका आफ्नै भाञ्जा पर्ने व्यक्ति भोलि लेफ्टिनेन्ट कर्णेलमा बढुवा हुँदैछन् भनेर दरबारबाट खबर आयो । सोही दिन बेलुका ती भाञ्जा आफ्ना मामाकहाँ मिठाइ लिएर पुगे । तर, प्रधानसेनापति सुरेन्द्रबहादुरले भाञ्जालाई फर्काउँदै भने- यो लगेर तपाईकै परिवारलाई खान दिनू ।

र, भोलिपल्ट तपाई घरै बस्नोस् भनेर सुरेन्द्रबहादुरले आफ्ना भाञ्जालाई प्रमोसनको सट्टा रिटायर्ड गरिदिए । तत्कालीन प्रधानसेनापति शाहले नेपाल आर्मीलाई ठीक पार्छु भनेर कम्मर कसे ।

तर, त्यसको ३/४ महिनापछि शाहले हार खाए । र, उनले भने, यो नेपाल आर्मीमा मेरा साला, भदा, ज्वाइँ, सम्धीहरु प्रशस्तै रहेछन् । मैले सकिनँ ।

अन्ततः उनले राजा महेन्द्रलाई सुझाव दिँदै प्रधानसेनापतिको पदावधि ६ वर्षबाट घटाएर ४ वर्ष बनाउन आग्रह गरे । राजा महेन्द्रले उनको सल्लाह मानेर प्रधानसेनापतिको कार्यकाल चारवर्षे त बनाए, तर उनलाई चाहिँ तिमीले ६ वर्ष नै खानू भने ।

शाहपछि सिंहबहादुर बस्न्यात प्रधानसेनापति भए । र, बस्न्यातको पालादेखि प्रधानसेनापतिको कार्यकाल चार वर्षे बन्यो ।

पूर्णचन्द्रको परीक्षा

नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सुरेन्द्रबहादुर शाहजस्तै नेपाल आर्मीलाई शुद्धीकरण गर्नुपर्छ भन्ने मान्यता राख्ने सैन्य अधिकारी हुन् । तर, वरिपरिका धुपौरेहरुको स्वार्थ, अनि राजनीतिक नेतृत्वको स्वार्थप्रति उनी कत्तिको टिक्छन् भन्नेचाहिँ अबको तीन/चार महिनापछि थाहा हुने कतिपय पूर्वजर्नेलहरुको बुझाइ छ ।

जस्तो- नेपाली सेनाले व्यापार गर्नुहुँदैन भन्ने मान्यतामा थापा दृढ रहँदै आएका छन् । यसैको संकेतस्वरुप उनले आर्मी अफिसर्स क्लबलाई पार्टी प्यालेसजस्तो बनाउनबाट रोक लगाएका छन् । अब उनले यसैगरी फास्ट ट्रयाक र रानीपोखरीमा पनि सेनाको संलग्नता फिर्ता लिनसक्ने संकेत देखिएको सूत्रहरुको दाबी छ ।

‘फास्ट ट्रयाक बनाउने वा रानीपोखरी बनाउने काम आर्मीको होइन,’ थापाले राख्दै आएको मान्यताबारे जानकारी दिँदै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘विकट ठाउँमा पहरो फोर्न सकिएन भने सेनाले फोडेर विकास निर्माणमा सहयोग गर्नुपर्छ । तर, सेनाले आफैं ठेक्का लिने, लगाउने वा सडक विभागले जसरी टेण्डर खोल्ने काममा लाग्नुहुँदैन ।’

सूत्रहरुका अनुसार फास्ट ट्रयाक नेपाली सेनाले बनाउने सरकारी निर्णयअन्तरगत टेण्डर खोलेर जंगी अड्डाबाटै ठेकेदारहरुलाई बोलपत्र आह्वान गर्ने काम नेपाली सेनाको होइन भन्ने मान्यता प्रधानसेनापति थापाको छ । तथापि अहिले फास्ट ट्रयाकको सन्दर्भमा सेनाले त्यही काम गरिरहेको छ, जुन काम थापाले गरिनुहुँदैन भन्दै आएका छन् ।

अर्को विरोधाभाषपूर्ण पक्ष के छ भने यसअघि फास्ट ट्रयाकमा निवर्तमान प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले स्वयं पूर्णचन्द्र थापालाई नै सेकेण्ड म्यानको हैसियतले इञ्चार्ज बनाइदिएका थिए ।

आफैं इञ्चार्ज हुँदा फास्ट ट्रयाकको निर्माण प्रक्रिया थालिसकेको सेनालाई अब प्रधानसनेापति थापाले ‘ब्याक आउट’ गर्न गाह्रो हुने सैन्य अधिकारीहरु बताउँछन् । सूत्र भन्छ- ‘यसमा रक्षामन्त्री नै अगाडि बढिसकेका छन् । फास्ट ट्रयाकको ठेक्कापट्टामा धेरैको स्वार्थ जोडिएको छ । सेनाले रुख काट्ने लगायतका कामहरुमा हात हालिसकेको अवस्था छ ।’

फास्ट ट्रयाकमा शेरबहादुर देउवाका आफन्तहरुको पनि स्वार्थ जोडिएको र अब त्यहाँबाट सेना ब्याक हुँदा प्रधानसेनापतिले देउवाको समेत दबाव झेल्नुपर्ने कतिपय सैन्य अधिकारीहरुको आँकलन छ । यो अवस्थामा थापाले दबाव कति झेल्न सक्छन् भन्ने कुरामै अबको उनको कदम निर्भर रहने स्रोतको विश्लेषण छ ।

यद्यपि थापाले नेपाली सेनालाई व्यवसायी नभएर व्यवसायिक बनाउन भूमिका खेल्न सक्ने धेरैको अनुमान छ । यसो गर्दा फास्ट ट्रयाक र रानीपोखरीबाट सेना ‘ब्याक’ हुने अनुमान लगाउनेहरुको कमी छैन ।

विगतमा बोर्डको नेतृत्वमा बस्दाखेरि थापाले अनुशासन गडबड गर्ने सैनिकहरुको बढुवा रोकेको सम्झन्छन् कतिपय सैनिक अधिकारीहरु । स्टाफ कलेजमा रेकर्ड ठीक छैन भनेर उनले १० जनालाई जाँचै दिन नपाउने गरी रोकिदिएका थिए ।

थापाको यस्तो विगतलाई हेर्दा नेपाली सेनामा अब कडा अनुशासन कायम हुन सक्ने कतिपयको अनुमान छ । ‘तर, थापा आफैंचाहिँ कडा कमाण्डर होइनन्,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आर्मीको नेतृत्व कडा हुने जमाना गए । त्यसैले उनी कडा हुने स्थिति देखिँदैन र उनी कडा हुने मान्छे पनि होइनन् । कुशल सेनापतिले जो सरकारमा आयो, उप्रति नरम हुनैपर्छ । प्रोफेसनल सिपाहीले राजनीतिमा लाग्नहुँदैन भन्नेमा थापा स्पष्ट छन् । तर, सरकारप्रति टस्सल नगर्ने लाइनमा छन् उनी ।’

‘राणा र शाह फेजआउट भए, कूको खतरा छैन’

सैन्य मामिलाका जानकारहरुको दाबी के छ भने नेपाली सेनामा अब राणा र शाहहरु धेरै नै कम भइसके । अहिले दुईतारे जर्नेलमा राणा पनि छैनन् र शाहहरु पनि छैनन् । सेनाभित्र भएका राणा-शाह पनि डिफेन्सिभ छन् । खाईपाई आएकाहरु ‘फेजआउट’ भएका छन् ।

राणा र शाहहरुको प्रभुत्वबाट नेपाली सेना मुक्त भएकाले अब त्यतातिरको खासै डर छैन । अर्थात, अब सेनाले विगतमा जसरी दरबारियाहरुसित मिलेर लोकतन्त्रमाथि कु गर्छ कि भन्ने भय लगभग समाप्त भएको छ । ‘यदि सेनाले कु गर्ने थियो भने गौरबसमशेर जबरा प्रधानसेनापति हुँदा डराउनुपथ्र्यो’ सूत्र भन्छ, ‘किनभने उनलाई इण्डियाको आड थियो, उनी झ्वाँक्की स्वाभावका थिए र पावरका भोका पनि ।’

त्यसैगरी गिरिजाप्रसाद कोइराला राष्ट्रप्रमुख र प्रधानमन्त्री दुबै भएका बेला सेनाले चाहेको भए गडबडी हुन सक्ने अवस्था रहेको सुरक्षा मामिलाका जानकारहरुको विश्लेषण छ ।

तर, अब कुनै पनि सेनापतिले आर्मीलाई कडा बनाउँछु र गडबडी गर्छु भन्यो भने उसलाई पीएसओहरुले नै सपोर्ट नगर्ने विश्लेषकहरुको तर्क छ । किनभने, प्रधानसेनापतिको लाइनमा भएका सैनिक अधिकारीहरुले नचाहिँदो कुरामा प्रधानसेनापतिलाई सपोर्ट गर्लान् भन्ने अनुमान गर्न नसकिने उनीहरु बताउँछन् ।

हुन त कतिपय अवस्थामा प्रधानसेनापतिलाई छिमेकीहरुसितको सम्बन्धका आधारमा पनि विश्लेषण गरिँदै आएको छ, नेपाली सेनाभित्र ।

तर, नयाँ प्रधानसेनापति थापाको हकमा भने देश बाहिर उनको सम्पर्क ज्यादै कम रहेको स्रोतको भनाइ छ । उनी साधारण जनताको छोरो रहेको र स्टाफ कलेज पनि नेपालमै गरेको हुनाले उनीमार्फत बाहिरबाट चलखेल हुन सक्ने सम्भावना नरहेको सूत्रहरुको दाबी छ ।

बरु यसको उल्टो, ‘थापाको नेतृत्वमा बाहिरसँगको ‘एक्सेस’ मा समस्या पर्न सक्छ, घुलमिलमा समस्या हुन सक्छ,’ सूत्र भन्छ, ‘विदेशसँगको ‘प्रोजेक्सन’ फितलो हुन सक्छ । यसमा उनले आफ्ना स्टाफहरु कस्ता राख्छन् भन्ने कुरा निर्भर गर्छ ।’

यद्यपि थापाको कार्यकालमा नेपाली सेना विवादमा नपर्ने र व्यवसायिक एवं संस्थागत बाटोमै अघि बढ्ने अनुमान गर्न सकिने भन्दै पूर्वसैन्य अधिकारीहरुले नयाँ नेतृत्वलाई आशावादी नजरले हेेरेको देखिन्छ ।

थापाले विगतदेखि कायम राखेको स्वच्छ छवि कायमै रह्यो भने नेपाली सेनाभित्रको भ्रष्टाचार र कल्याणकारी कोषको दुरुपयोग पनि रोकिने अनुमान कतिपय पूर्वसैन्य अधिकारीहरुले गरेको पाइएको छ ।