नेपाली हेलिकप्टर भारतको आकाशमा उड्दा उड्यो भारतको होस: भारतमा यति ठुलो हल्लीखल्ली, जानकारी जुटाउन गुप्तचर परिचालन


काठमाडौँ – एउटा नेपाली हेलिकप्टरका बारेमा भारतमा हल्लीखल्ली भएको छ । गत सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भुजेला क्षेत्रमा उडेको सो हेलिकप्टरका कारण भारतमा हल्लीखल्ली भएको हो ।

भारतीय अखबार ‘अमर उजाला’का अनुसार उक्त हरियो रङको उक्त हेलिकप्टर भुजेला गाउँ हुँदै बनबासा क्षेत्रमा पुगेको थियो । शारदा ब्यारेज र भारतीय सीमा सुरक्षा बल (एसएसबी) क्याम्पमाथि केही बेर उडेर सो हेलिकप्टर नेपालतर्फ फर्किएको उक्त समाचारमा बताइएको छ ।

भारतीय सुरक्षा एजेन्सीहरुले यस सम्बन्धमा उच्च अधिकारीहरुलाई जानकारी गराएको र नेपालसँग पनि जानकारी माग गरिएको बताइएको छ । भारतीय सुरक्षा एजेन्सीहरुले उक्त हेलिकप्टरबारे जानकारी जुटाउनका लागि गुप्तचरलाई समेत परिचालन गरेको उक्त अखबारको दावी छ । उक्त हेलिकप्टर आफ्नो वायुक्षेत्रमा प्रवेश गरेको र सुरक्षा निकायको क्याम्पमाथि उडेको भन्दै पूर्व जानकारीविना यसरी आउनुको कारण पत्ता लगाउन भारतीय अधिकारीले मातहतका निकायलाई निर्देशन दिएको बताइन्छ ।