Logo

सारै दुखत खबर: दम्पती त्रिशूलीमा हेलिनुको कारण मिटरब्याज, सानो छोराको आज थियो पास्‍नी

धादिङ — बिहीबार धादिङको बेनिघाटमा त्रिशूली नदीमा दम्पती हेलिनुको कारण मिटरब्याज रहेको प्रहरीले बताएको छ । आफ्‍ना दुई नाबालक छोरासहित चन्द्रागिरी नगरपालिका ४, थानकोटका विनय लामिछाने र उनकी पत्नी जमुना रेग्मी लामिछाने त्रिशूलीमा हेलिएका थिए ।

२७ वर्षीया जमुनाको शव प्रहरीले बिहीबार नै फेला पारेको छ। विनयको उद्धार गरिएको छ भने उनीहरुका दुई वर्षे र छ महिने छोरा बेपत्ता छन्। आफन्तका अनुसार सानो छोराको शुक्रबार (आज) भातखुवाइ (पास्‍नी) थियो।

मिटरब्याजमा लिएको पैसा तिर्न नसक्ने अवस्थामा पुगेपछि दम्पती सल्लाहमा नै त्रिशूलीमा हेलिएको प्रहरीको भनाई छ। प्रहरीले विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको सुसाइड नोट भेटिएको बताएको छ। यस्तै जमुनाका फेसबुक स्टाटसका आधारमा प्रहरी यस्तो निष्कर्षमा पुगेको हो।

प्रहरीले उनीहरु झलुंगे पुलबाट हामफालेकाे प्रारम्भिक अनुमान गरेको भए पनि विनयले आफूहरु नदीमा हेलिएको बताएका हुन्।उनीहरु बिहीबार बेनीघाट सिउरेनी पुल मुन्तिरबाट हात समाएर दुवै छोरालाई काखमा लिइ त्रिशूलीमा हेलिएको गजुरी प्रहरीलाई विनयले बताएका छन्। त्रिशूलीमा जलयात्रा गर्ने समूहले देखेपछि श्रीमान विनय लामिछानेको तत्काल उद्धार गरियो। संक्रान्ति मनाउन गजुरी ६ आदमघाट बजारस्थित माइतीसमेत रहेका वडाध्यक्ष कुमार रेग्मीको घर जान्छु भनेर पोखरा जाने बसमा चढेका लामिछाने दम्पति आदमघाटस्थित माइतीघर नझरेर बेनीघाट बजार झरेका थिए।

जमुनाले आफ्नो अंग्रेजी नाम उल्टो बनाएर फेसबुकमा पुस १९ गते ७ बजेर ४९ मिनेटमा लेखेको स्टाटसमा मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकम धनीले दबाब दिएको उल्लेख गरेकी छन्। जमुनाले चलाएको ‘इम्गिर अनुमाज’ नामक फेसबुक एकाउन्टमा गत जनवरी ४ मा थानकोटमा आएका नयाँ डिएसपीसँग मिटर ब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारबाही गर्न माग गरेकी थिइन्।

उनले फेसबुकमा आफनो नाम उल्टोपाल्टो बनाएर परिवर्तन गर्नु र मिटर ब्याजका अपराधीको दबाब थेग्न नसकेपछि कारबाही हुने आशामा त्यस्तो स्टाटस राखेका हुनसक्ने अनुमान गरिएको धादिङ प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।

मकवानपुरको चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिकाअन्तर्गत थानकोटमा बस्दै आएका थिए। उनीहरुले तिनकुनेस्थित कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेका थिए। सेयर लगानी गर्न विभिन्न व्यक्तिहरुबाट मिटर ब्याजमा करिब २ करोड ऋण लिएको थानकोटस्थित घरबाट प्रहरीले फेला पारेको ‘सुसाइड नोट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ।

उनीहरुले ऋण लिएको रकम र ऋण दिने व्यक्तिको नाम र तिर्नुपर्ने रकम उल्लेख गरिएको घरमा छोडेको लिखतमा फेला परेको प्रहरीले बताएको छ। माघ २ गते लेखेर घरमा छोडिएको सुसाइड नोटमा अनलाइन व्यापारका कार्यकारी निर्देशकको नाम पनि उल्लेख गरिए पनि अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले नाम गोप्य राखेको छ।
मृतक जमुना सिद्दलेक ७ वडघरेमा जन्मेर स्नातकोत्तरसम्मको अध्ययन गरेकी थिइन् भने विनयले २ वटा विषयमा स्नातकोत्तर अध्ययन गरेको पारिवारिक स्रोतले जनाएको छ। विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको पनि एसपी रेग्मीले बताए। कान्तिपुर बाट

प्रतिक्रिया दिनुहोस्