Logo

आदित्य-नेहा विवाह चर्चा, उदितनारायण भन्छन्- घरमा थप एक गायिका भित्रनेछिन् !

यतिबेला भारतीय सञ्चारमाध्यममा गायक उदितनारायण झाका छोरा आदित्यनारायण झा र गायिका नेहा कक्करबीचको विवाह चर्चा चुलिएको छ। ‘इन्डियन आइडल सिजन-११’ मा निर्णायकका रूपमा रहेकी कक्कर र होस्टका रूपमा रहेका आदित्यको विवाह चर्चा चुलिएको हो।

उनीहरूले कार्यक्रमको स्टेजमा देखाउने हाउभाउ र विभिन्न एपिसाेडमा भएका गतिविधिका आधारमा यस्तो चर्चा सुरु भएको हो। विशेष गरेर कार्यक्रमको सेटमा जब होस्ट आदित्यका बुबा उदितनारायण झा, आमा दीपा झा र नेहाका तर्फबाट उनको परिवार उपस्थित थिए। त्यस दिनबाट यी दुईबीच विवाहको चर्चा सुरु भएको थियो।

यससम्बन्धमा चौतर्फी गसिप र समाचार बनिरहँदा बुबा उदितनारायणले छोरा आदित्य र गायिका नेहाकाे विवाह चर्चाबारे आफ्नो धारणा राखेका हुन्। नवभारत टाइम्ससँगको अन्तर्वार्तामा आदित्य र नेहाको सम्बन्धको चर्चाबारे बुबा उदितनारायणले आफ्नो धारणा राखेका हुन्।

छोरा आदित्य र गायिका नेहाबीच विवाहको चर्चा चलिरहँदा तपाईं के भन्नुहुन्छ? भन्ने प्रश्नको जवाफ दिँदै झाले भनेका छन्, ‘नेहा प्यारी छिन्। उनी निकै मीठा गीत गाउन सक्षम छिन्। उनी मलाई मन पनि पर्छ।’

‘म उनलाई पक्कै मन पराउँछु, किनकि उनले आफ्नो क्षेत्रमा सफल नाम बनाएकी छिन्। उनका गीत म पनि सुन्छु,’ उदितनारायणले थपेका छन्, ‘आदित्य नेहाको जोडी पनि जमिरहेको छ। बाँकी मलाई केही थाहा छैन। किनकि, यी सबै समाचार टिभीमा चलिरहेका छन्। तर, जे भए पनि यो विवाह भयो भने खुसी हुनेछु। कारण, मेरो घरमा अर्को एक गायिका सदस्यको प्रवेश हुनेछ।’

प्रतिक्रिया दिनुहोस्