Logo

हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ

माघ – मकवानपुर प्रहरीले हेटौंडा नवलपुरकी अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
तेस्रो लिङ्गी भुजेलको गत शनिवार हेटौंडा–५ क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । मृतक भुजेलको घाँटीमा तारले बेरेको दाग थियो । टाउकोमा घाउचोट पनि देखिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै अधिकारकर्मीहरुले दोषिलाई छिट्टै समातेर कडा कारबाही गर्न माग गर्दै आएका छन् ।

भुजेलको हत्या प्रकरणमा मकवानपुर प्रहरीले ५ जनालाई पक्राउ गरेको प्रहरीको उच्च स्रोतले तु खबरलाई जानकारी दिएको छ । प्रहरीले मोबाइल कल डिटेल, सिसिटिभी फुटेजलगायतका अन्य अनुसन्धानको आधारमा ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका मध्ये २ जना हेटौंडा–११ थानाभर्याङस्थित एक होटलमा काम गर्ने युवाहरु रहेको बुझिएको छ । भुजेलको शव क्याम्पाडाँडामा भेटिए पनि उनले चढ्दै आएको ना ५३ प २७३४ को स्कुटर थानाभर्याङमा भेटिएको थियो । प्रहरीको अनुसन्धानले मध्यरातको १२ बजेसम्म भुजेल थानाभर्याङमै रहेको देखाएको छ ।

प्रहरीले पक्राउ परेका ५ जनाको नाम गोप्य राखेको छ । ‘हामीले पक्राउ परेका व्यक्तिहरुको नाम अहिले नै सार्वजनिक गर्न मिल्दैन् । घटनाको विषयमा अनुसन्धान र पक्राउ परेकाहरुसँग थप सोधपुछ भइरहेको छ ।–’ मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले भने ।

प्रतिक्रिया दिनुहोस्