सांसद दीपक मनाङ्गे लेकसाइडबाट पक्राउ


काठमाडौं – गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी बताए ।

मनाङेले बिहीबार राष्ट्रिय सभाको निर्वाचनमा मत खसालेका थिए । मत खसालेर लेकसाइडको होटलतर्फ लागेका राजीवलाई प्रहरीले होटबाटै पक्राउ गरेको हो । मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङ्गेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।