Logo

आज विद्याकी देवी सरस्वतीको पुजा, यसरी मनाउनुहोस् , ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा बिहिबार परेको छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ । एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए ।

पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो ।

यसै समयदेखि वसन्तराग गाउन थालियो । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।

भोलि (सरस्वतीपूजा) को दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन् ।

विद्या र सृजनाकी देवी भएकाले जान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पुजा आराधना गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्