ललितपुर – यहाँस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसकाे बाथरुममा नुहाउन पसेका पतिपत्नीको निस्सासिएर ज्यान गएको छ । ललितपुर महानगरीय प्रहरीले दिएको जानकारी अनुसार तिखेदेवलस्थित उक्त हेल्थ क्लबको ‘साउना बाथ’मा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा हस्त गर्बुजामगर (४२) र उनकी श्रीमती नेत्रकुमारी (३९) रहेको प्रहरीले जनाएको छ ।
तातोपानी भएको साउना बाथरुममा रिल्याक्स गर्न भनी पसेर सो दम्पती अबेरसम्म ननिस्किएपछि बाथरुमको ढोका फोडेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए । बढी समय बाथरुमभित्रै रहेकाले अक्सिजनको अभाव हुन गई सो घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
बेहोश अवस्थामा भेटिएका उनीहरुको तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनीहरूलाई तत्कालै मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव भएको अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको ललितपुर महानगरीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया