Logo

विश्वकै लोपोन्मुख पहेँलो कछुवा भेटियो बुटवलको चारपाला वनमा ! सेयर गरौ

बुटवलको चारपाला सामुदायिक वनमा विश्वमै लोपोन्मुख पहेंलो कछुवा भेटिएको छ। बुटवल उपमहानगरपालिका वडा नंं १२ स्थित उक्त वनमा पहेँलो प्रजातिको कछुवा भेटिएको अनुसन्धानकर्ताहरुले बताएका छन्। काठमाडौं गोल्डेन गेट कलेजबाट आएको सुरेन्द्र राजवंशीको टोलीले हालै मात्र वनमा अनुसन्धान गर्दा पहेँलो प्रजातिका ४ वटा कछुवा र अण्डा फेला पारेको हो। यो कछुवा विश्वमै लोप हुन लागेको प्रजाति भएको राजवंशीले जानकारी दिए।

पहेँलो कछुवा पानीमा नबस्ने र नेपालको चुरे क्षेत्रका वनमा पाइन सक्ने देखिएपछि अनुसन्धानमा आएको टोलीले कछुवा फेला पारेको चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ओमप्रसाद ठाकुरले बताए।

पहाडको उकालोमा घसे्रर बाँच्ने यो कछुवाको आयु ८० वर्षभन्दा बढी हुन्छ। लोपोन्मुख भएकाले यसको संरक्षणमा अझै बढी चासो दिइएको सामुदायिक वनका कार्यालय सचिव विनोद आचार्यले बताए। अनुसन्धानकर्ताले फेला पारेको कछुवालाई वनमै छाडेका छन्। टोलीले कछुवाको बाँकी अनुसन्धान काठमाडौंमै गरिरहेको आचार्यको भनाई छ।

बुटवल, शुद्धोधन र सियारीका उपभोक्ताहरु सम्मिलित चारपाला सामुदायिक वनका १४ हजार बढी उपभोक्ता छन्। २ हजार १० हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा हालैमात्र प्राकृतिक संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले बाघको गणना गरेको थियो ।
बाघ गणना गर्दा चारपाला वनमा १ पाटे बाघ र २ न्याउली बाघ फेला पारिएको थियो।

प्रतिक्रिया दिनुहोस्