Logo

हेर्नुहोस फेरी एक बिहानै : टिपरले किच्यो दूध बेच्न हिँडेकी मनमायालाई, गोरखामा तनाव

गोरखा नगरपालिका वडा नम्बर १० अमलापानीकी ५२ वर्षीय मनमाया तामाङ शुक्रबार बिहान दूध बेच्न नजिकैको छेपेटार बजार जाँदै थिइन्।

बाक्लो कुहिरो लागेको थियो।

छेपेटार बजार जाने बाटोमा गोरखकाली क्रसर छ। क्रसरमा टिपरको ओहोरदोहोर बाक्लो हुन्छ। सधैं यही बाटो गुड्ने टिपर शुक्रबार बिहान मनमायाको काल बनेर आयो।

क्रसर परिसरको छेउमा हिँडिरहेकी मनमायालाई ग१ख ८०२७ नम्बरको टिपरले किच्यो। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनमायाको घटनास्थलमै मृत्यु भयो।

पौने सात बजेतिर टिपरले उनलाई किचेको थियो। अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। आक्रोशित स्थानीय बासिन्दाले २० भन्दा बढी टिपर र छ वटा एक्साभेटरका सिसा फुटाइदिएका छन्।

गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले घटनास्थलमा प्रहरी परिचालन गरिएको सेतोपाटीलाई जानकारी दिए। टिपर चालक नियन्त्रणमा लिएको र भीड नियन्त्रणको प्रयास गरिरहेको उनले बताए।

स्थानीय बासिन्दाले क्रसर उद्योग बन्द नगरेसम्म शव नउठाउने अडान राखेका छन्।

प्रतिक्रिया दिनुहोस्