Logo

‘प्रेम संसार’ले ५१ दिन मनायो रे ! पत्याउने कसरी ?

तपाईले चलचित्र ‘प्रेम संसार’को नाम सुन्नुभएको छ ? छैन् भने तपाईलाई यो समाजले नस्विकार्न सक्छ है । किनभने, यस चलचित्रले हलमा ५१ दिन जो मनाएको छ ।

५१ दिन ? पत्याउनु भयो ? पक्कै पत्याउनु भएन होला । ५१ दिन मनाएको चलचित्रको नाम भने सुन्नु पर्ने भन्ने लागेको होला । अझ, नियमित चलचित्र हेर्ने दर्शक त लाजले मुख छोपेर हाँस्नु भएको होला ।

तर, नपत्याउनु पनि कसरी ? केही दिन अगाडि मात्रै यस चलचित्रको निर्माण पक्षले चलचित्रले ५१ दिन मनाएको भन्दै एक कार्यक्रम नै गरे । कार्यक्रममा चलचित्रका कलाकार, हल संचालक, वितरकसँगै पत्रकारलाई पनि मायाको चिनो वितरण गरे । लाज्जै नमानी ।

यस चलचित्रले व्यापारिक रुपमा पनि सफलता पाएको ‘हुइया’ निर्माण पक्षले पिट्यो । यस कुराको पनि खिल्ली उढाइयो । चिनिएका स्टारकाष्ट भएको चलचित्रले पनि हलमा पानी भन्न नसकेको बेला यस्तो चलचित्र हिट भयो भनेको सुन्दा कसलाई हाँसो नउठ्ला र !

यस चलचित्रमा चिनिएका कलाकार कोही छैनन् । चलचित्रमा सबै नयाँ कलाकार छन् । चलचित्रको प्रचार सामाग्री पनि उत्ति रुचाइएका छैनन् । अनि कसरी टिक्यो होला, ५१ दिन ?

यसो हुन सक्छ, हलमा चलचित्र छैनन् । त्यसैले हलको भित्ताबाट चलचित्रको पोस्टर हटाउने चेष्टा हलले गरेन । पोस्टर टासिएकै भरमा ५१ दिन मनाएको हुइया निर्माण पक्षले पिटेको हुन सक्छ ।

निर्माणपक्ष चलचित्र हिट भएको सावित गर्न यत्तिमै कहाँ अडियो र ? उनीहरु अझ एक खुड्किला उक्लिएर अर्को चलचित्र घोषणा गरे । उनीहरु ‘प्रेम संसार’को सिक्वोल बनाउने घोषणा गरे । तर, बन्ने हो कि होइन राज जाने ।

तर, सिडी चडेको उर्दी लगाउँदै गर्दा आफ्नो शरीरको सुरुवाल खुस्किएको कुरा नबिर्सिदिए हुने ।

प्रतिक्रिया दिनुहोस्