Logo

वाह ओली सरकार ! चीनको हुपेबाट १८० विद्यार्थीलाई फर्काइँदै !

चीनको हुपे प्रान्तमा रहेका १ सय ८० नेपाली विद्यार्थी स्वदेश फर्किने भएका छन्। उनीहरूले आइतबार साँझसम्म ‘नेपाल जान पाऊँ’ भनेर आवेदन दिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार रोजगारी गर्दै आएका नेपालीले भने फारम भरेका छैनन्। उहान भ्रमणमा आएका नेपालीसमेत फर्किन लागेको उपप्रमुख लम्सालले सुनाए। उद्धारपछि नेपालमा राख्न उपयुक्त ठाउँको खोजी भइरहेको जानकारी पाएको दूतावासले जनाएको छ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित उहान सहरबाट ५९, चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरबाट क्रमशः ५०, ९, २९, २८ र ५ जनाले नेपाल फर्किनका लागि आवेदन दिएका छन्। ‘बाँकी नेपालीलाई एकपटक सोधिनेछ। त्यसपछि अन्तिम सूची तयार हुनेछ’, उनले अन्नपूर्णसँग भने, ‘चिनियाँ पक्षसँग पनि अनुमानित नेपाली र ल्याइने हवाईजहाजलगायतबारे छलफल भएको छ। अन्तिम स्वीकृतिको प्रतीक्षामा छौं। हामी जतिसक्दो छिटो पठाउने तयारीमा छौं।’

नेपाल सरकारले उद्धार गर्ने निर्णय गरेको भन्दै त्यसका लागि आवेदन दिन वेबसाइटमार्फत सूचना जारी गरिएको थियो। जसअनुसार हुपेमा रहेका नेपालीले दूतावासको वेबसाइटमा उपलब्ध फारम भर्नुपर्ने जनाइएको थियो।उनीहरू फर्किनुअघि चिनियाँ विमानस्थलमा सबैको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणपछि स्वास्थ्य स्थिति सबल भए नेपाल फर्काइनेछ। कसैमा शंका लागे चीनमै राखेर केही समयपछि मात्र फर्काइनेछ। संक्रमितलाई चीनमै उपचार गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्