कोरोना भाइरस प्रकोपको चेतावनी दिने चिकित्सकको मृत्यु ! सेयर गरौ


चीनमा कोरोना भाइरस फैलिन सक्ने र त्यसले मानवीय क्षति गर्न सक्ने पहिलो पटक चेतावनी दिएका चिनिया चिकित्सकको कोरानाकै कारण ज्यान गएको छ।

३४ वर्षीय नेत्र रोग विशेषज्ञ ली वेन्लियाङको भाइरस संक्रमणकै कारण गए रात अबेर मृत्यु भएको चीनको पीपल्स डेलीले उल्लेख गरेको छ।

वेन्लियाङ वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उनले पहिलो पटक डिसेम्बर ३० मा भाइरस संक्रमण भयावह रूपमा फैलिन सक्ने चेतावनी दिएका थिए।

उनले आफ्ना सहपाठी तथा सहकर्मीहरूलाई सार्सजस्तै कोरोना भाइरस पनि फैलिन सक्ने डर भएको सामाजिक सञ्जाल वी च्याटमा बताउका थिए। तर प्रहरीले उनलाई ‘अनर्गल टिप्पणी नगर्न’ सचेत गराएको थियो।

यसभन्दा अघि पनि भाइरस संक्रमितको उपचारमा खटिएका एक चिकित्सकको भाइरस संक्रमणकै कारण ज्यान गएको थियो।

हालसम्म चीनमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६३७ पुगेको चिनियाँ सीजीटीएनले उल्लेख गरेको छ। त्यस्तै १,५४० जना निको भइसकेको समेत उल्लेख गरेको छ भने ३१,२११ जनामा संक्रमण देखिएको बताएको छ।