Logo

के घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल पाउलात सफलता ?

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ । सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दैछन् । नेपाल घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ ।
जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हुन्छ । नेपालका क्रिकेट प्रशंसक विश्वमै परिचित छन् । अन्य देशका क्रिकेट खेलाडी यहाँका दर्शकबाट निकै प्रभावित हुँदै आएका छन् ।

उनीहरुले यहाँका दर्शकलाई जितमा मुख्य बाधकका रूपमा लिने गर्छन् । घरेलु मैदानमा लिग दुईको प्रारम्भ गरेको नेपाली क्रिकेट टोलीले आफ्ना दर्शकलाई निराश पारेको छ ।
अमेरिकासितको खेलमा नेपाली क्रिकेट खेलाडीको ध्यान उक्त कुरामा केन्द्रित हुनेछ । त्यसैले अमेरिकासितको आजको खेलमा विजयी हुँदै नेपाली क्रिकेट टोली घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ ।
त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसित निरीह बने पनि अमेरिकासितको खेलमा भने आफूलाई अब्बल सावित गर्न लालायित छ । नेपाल अमेरिकामाथि हावी छ । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

नेपालको ओपनिङ खासै जम्न सकेको छैन । ओमानसितको पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गरेका थिए । दुवै जनाबीच मात्र चार रनको साझेदारी भयो । यसले नेपालको ओपनिङको व्यापक आलोचना भएको थियो ।
ओमानसितको खेलमा शरद भेषवाकर घाइते बनेपछि सुवास खकुरेलले ओपनिङ गर्दै आएका छन् । उनलाई कप्तान ज्ञानेन्द्रले साथ दिइरहेका छन् । सुवासले पनि आशा गरेअनुरुपको ओपनिङ गर्न सकेका छैनन् ।

उनले अमेरिकासितको पहिलो खेलमा तीन रन बनाएका थिए । ओमानसितको दोस्रो खेलमा भने ब्याटिङमा सुधार गर्दै उनले २२ रन बनाए । सुवासको तुलनामा ज्ञानेन्द्रको ब्याटिङबाट नेपालले आस गर्ने ठाउँ छ । उनले अमेरिकासितको पहिलो खेलमा २१ रन बनाएका थिए भने ओमानसितको दोस्रो खेलमा ५६ रनको अर्धशतकीय पारी खेले ।
अमेरिकासितको अन्तिम खेलमा नेपालको ध्यान सुदृढ ओपनिङमा हुनेछ । ब्याटिङमा नेपाल अघिल्ला खेलहरुमा जस्तै ज्ञानेन्द्र, पारस खड्का दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी र आरिफ शेखमाथि निर्भर रहनेछ । नेपालका तर्फबाट शरद, ज्ञानेन्द्र, कुशल गौतम र विनोदले अर्धशतकीय पारी खेलेका छन् ।

यीमध्ये शरद चोटका कारण अहिले विश्राम गरिरहेका छन् । त्यसैले आजको खेलमा बाँकी तीनै जनामाथि नेपाल निर्भर रहनेछ । यसबाहेक ब्याटिङमा नेपालको ध्यान पारस, आरिफ र उपकप्तान दीपेन्द्रमाथि हुनेछसमग्रमा नेपाल र अमेरिकाले अन्तिम खेलमा जित हासिल गर्नका लागि ब्याटिङ, बलिङ र फिल्डिङमा नै ध्यान दिनुपर्नेछ ।

अमेरिकाले ओमानसितको दुवै खेल हारेपछि लिग दुईको शीर्षस्थान गुमाइसकेको छ । अमेरिका हालसम्म खेलेका ११ खेलमध्ये छ मा जित तथा पाँचमा हारसहित १२ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । नेपालले हालसम्म खेलेको तीन खेलमध्ये दुईमा हार तथा एकमा जित निकालेको छ । नेपालले दुई अङ्क बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस्