बुबा र आमा दुवैलाई गुमाएका यि साना नानी बने अविभावक विहिन, पढ्ने खर्च नै नभएपछि छन् अप्ठ्यारोमा !


माबुबा दुवै गुमाएका दुई छोरीलाई विदेशमा बस्ने नेपालीले दुई लाख ८४ हजार आर्थिक सहयोग गरेका छन् । नेपालगञ्जका सीता बस्नेत तीन वर्षअघि जन्डिसले श्रीमान्को मृत्यु भएपछि दुई छोरी लिएर पोखरा महानगरपालिका–१७ बेलघारी माइतीको शरणमा आउनुभएको थियो ।

उनको मनिपाल अस्पतालमा उपचारका क्रममा गत पुस १० गते निधन भएपछि अहिले दुई छोरी अभिभावक गुमाउनुको पीडामा रहेका छन् ।

सेतो वस्त्र लगाएर १३ दिन नै माताको किरिया बसेका १४ र ११ वर्षीया पूजा र पुष्पाको तस्बिर सामाजिक सञ्जालमा भावुकताले छाएको थियो ।

ती दिदी बहिनीका कारुणिक तस्बिर र कमजोर आर्थिक अवस्थाबारे डेनमार्कमा रहेका जाग्रिला केसी र उनका श्रीमान् अरविन केसीले रु एक लाख १७ हजार सङ्कलन गरेर नेपाल पठाएका छन् ।

सो रकम उनका दिदी साग्रिला केसीले उनीहरुले आश्रय लिइरहेको मावली घर पोखराको बेलघारीमा पुगेर हस्तान्तरण गरे ।

चेक हस्तान्तरण गर्दै साग्रिला केसीले भने, “अभिभावक गुमाउनुको पीडा र त्यसमाथि कमजोर आर्थिक अवस्थाका कारणले उनीहरुको भविष्य नबिग्रियोस् भनेर सहयोगमा जुटेका हौँ ।” उनले डेनमार्कबाट बहिनीज्वाइँले सङ्कलन गरेर पठाएको रकममा तीन हजार थपेर एक लाख २० हजार हस्तान्तरण गरेको बताए ।

त्यसरी नै नेदल्यान्ड बस्ने मीना र कुश बजगाईंले पनि आफूहरु र साथीभाइबाट सङ्कलित एक लाख ६४ हजार रकमको चेक हस्तान्तरण गर्नुभयो ।

“आर्थिक अवस्था निकै कमजोर रहेछ, आश्रय लिएर बसिरहेको मामाको घर पनि सानो भएकाले उनीहरुका लागि छुट्टै कोठा बनाउनसमेत पहल भएको रहेछ, यसको निर्माणमा सहयोग होस् भनेर रकम सङ्कलन गरेर हस्तान्तरण गरेका हौँ ।” उनले अभिभावक गुमाएका पूजा र पुष्पाको मनोबल कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

चेक ग्रहण गर्दै पूजाले आफूहरुलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति आभार व्यक्त गरिन् । उनले आफू पढेर नर्स बन्ने लक्ष्य राखेको बताइन् । त्यसैगरी पुष्पाले आफू इञ्जिनीयर बन्ने लक्ष्य रहेको सुनाइन् । दुवै जनाले भविष्यमा सामाजिक क्षेत्रमा समेत सक्रिय रहने चाहना व्यक्त गरे ।

हजुरबुबा रामबहादुर अधिकारीले नातिनीहरुका नाममा सङ्कलित करीब ६ लाख रकमलाई टोल विकास समितिको अध्यक्षको रोहवरमा बैंकमा राखिएको र उनीहरु १८ वर्ष पुगेपछि मात्र भोगचलन गर्न पाउने गरी जम्मा गरिदिएको बताए ।

उनले भने “धेरै थोरै सहयोग रकम आइरहेको छ, अहिले सानो घरमा बसेका छौँ नातिनीहरुलाई पढ्न, लेख्न र बस्न सजिलो होस् भनेर पछाडि उनीहरुका लागि एउटा कोठा बनाउँदैछौँ । सहयोग गर्नेहरुप्रति आभारी छौँ ।” सहयोगी मनहरुका साथ र सहयोगले नातिनीहरुलाई ऊर्जा मिल्ने र भविष्यमा पढ्न चाहेको विषय पढेर आफ्नो भविष्य बनाउन सक्ने विश्वास व्यक्त गरे ।