Logo

सन्दीप र सुशनले बनाए अमेरिकाको हरि विजोग, रचे कृतिमान !

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका ब्याटिङ गरेको थियो । नेपालले जितका लागि ३६ रनको लक्ष्य पाएको छ ।

नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन भारी चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो। सन्दीपले ६ र भारीले ४ विकेट लिए। दोस्रो ओभरमा बलिङमा आएका सन्दीपले ओभरको अन्तिम बलमा अमेरिकाका इन हल्याण्डलाई आउट गराई पहिलो विकेट लिएका थिए ।

सातौं ओभरमा बलिङमा आएका सुशन भारीले पहिलो बलमा नै विकेट लिई दोस्रो सफलता दिलाए । उनले २२ बलमा १६ रन बनाएर खेलिरहेका जेभियर मार्शललाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन् । २३ रन जोड्दा दोस्रो विकेट गुमाएको अमेरिकाले थप १२ रन जोड्दा बाँकी ८ विकेट गुमायो ।

आठौं ओभरको दोस्रो बलमा मनाङ्क पटेललाई बोल्ड आउट गरे । त्यसैगरी यसै ओभरको पाँचौं बलमा निसर्ग पटेललाई पनि बोल्ड आउट गरे । खेलमा सुशन भारीले नेपाललाई पाँचौँ सफलता दिलाए । नवौँ ओभरको तेस्रो बलमा एरोन जोन्सलाई बोल्ड आउट गरेका हुन्।

सन्दीपले ९.५ ओभरमा अमेरिकाको छैटौं विकेट लिए । सुशन भारीले ११ औं ओभरको पहिलो र अन्तिम बलमा थप २ विकेट लिए। १२औं ओभरको तेस्रो बलमा सन्दीपले ९औं विकेट लिए । यसै ओभरको अन्तिम बलमा सन्दीपले १०औं विकेट लिएर अमेरिकालाई ३५ रन मै सीमित गरिदिए । ६ ‌‌‌ओभर बलिङ गरेका सन्दीपले १६ रन दिए । भारीले ५ करण केसीले १३ रन दिए ।

डिभिजन २ मा अमेरिका ओमानपछि दोस्रो स्थानमा छ । ११ खेल खेल्दा अमेरिकाले ६ जित निकाल्दै १२ अ‌ंक जोडेको छ । ३ खेल खेल्दा २ अंक जोडेको नेपाल ७ टोली रहेको डिभिजन २ मा छैटौं स्थानमा छ । पुच्छारमा रहेको पपुवा न्युगिनीले ८ खेलमा कुनै जित निकाल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्