कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी भागेका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार उनी साउदी अरबका नागरिक हुन् । चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए ।
सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् । ‘उनको कोरोना परीक्षण गर्न बाँकी थियो, अहिले खोजी भइरहेको छ’ प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न सकिएन ।’ अस्पतालमा बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको छ ।
प्रतिक्रिया