Logo

नेपाली सेनाका उच्च तहका अधिकारीहरुले राजीनामा दिने क्रम बढेको छ ।

सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्म मात्र ४९ जना उच्च अधिकारीहरुले राजीनामा दिएका खबर आजको कान्तिपुर दैनिकमा जगदश्विर पाण्डेले लेखेका छन् ।

रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरुको राजीनामा जंगीअड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक हो । राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथीदेखि उपरथीसम्म रहेका छन् ।


प्राविधिक उपरथी सुधीर श्रेष्ठ तथा सहायक रथीद्वय जीत गुरुङ र अजय राईले केहीसयम अघि मात्र राजीनामा दिएका थिए । स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले चालेको कदममाथि असन्तुष्टि जनाउँदै उच्च पदाधिकारीहरुले राजीनामा दिन थालेका हुन् ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने संगठनमा माथि जाने बाटो सकिएको र अवकाशपछि अन्य ठाउँमा जागिर नपाउने हुनाले उनीहरुबाट राजीनामा आएको दाबी गरे । राजीनामा दिनेहरुले भने प्रधानसेनापति थापाले प्राविधिक तर्फका उच्च अधिकारीलाई विश्वास नगरेको र नातावा, कृपावादलाई निरन्तरता दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्