Logo

फेरी अर्को डरलाग्दो घटना: ९ बजेसम्म घरमै पढिरहेकी कविताको मध्यरातमा हत्या

सल्यानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी किशोरी हत्याको अनुसन्धानमा भुन्टी नामक कुकुरलाई प्रयोग गरिएको छ।

जिल्लाको त्रिवेणी गाउँपपालिका-१ तल्लो काभ्राकी १७ वर्षीया कविता बोहराको शुक्रबार राति हत्या भएको थियो।

घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट प्रहरीले शनिबार ‘भुन्टी’ लाई घटनास्थल ल्याएर अनुसन्धान थालेको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

प्रहरी निरीक्षक लक्ष्मण वलीले बोहोरा हत्या अनुसन्धान गर्न भुन्टीसहित आफ्नो टोली शनिबार बेलुका ५ बजे घटनास्थलमा पुगेको बताए।

‘कुकुरले बोहोरा, उनका कपडा सबै सुँघ्यो र केही परसम्म पुग्यो,’ प्रहरी निरीक्षक वलीले भने ‘तर, खोला आएपछि अलमलियो।’

घर परिवारले शवमाथि छुट्टै कपडा ओढाइदिएको र धेरै मानिस शव भएको स्थानसम्म आवातजावात भएका कारण कुकुर अलमलिएको वलीले बताए।

कुकुर अलमिलिए पछि शनिबार राति नै उसलाई नेपालगञ्ज फिर्ता पठाइएको वलीले जानकारी दिए।

सल्यान प्रहरी प्रवक्ता उमाकान्त जोशीका अनुसार घटनास्थलमा बोहोराको मोबाइल फेला परेको छ।

अब त्यही मोबाइलको कल डिटेल्सको आधारमा प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ।

‘बोहोरा रातिमा किन घरदेखि बाहिर निस्केकी हुन, शौच गर्न वा कसैले फोन गरेर बोलाएपछि उनी निस्केकी हुन्? अहिले थाहा छैन,’ जोशीले भने, ‘अब त्यही आधारमा अनुसन्धान अगाडि बढ्छ।’

कक्षा ९ मा अध्यनरत बोहोराको अगाडि घाँटी र पछाडि टाउकोको भागमा धारिलो हतियारले आक्रमण गरी विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

कविताका अभिभावकले शुक्रबार राति ९ बजेसम्म उनलाई कोठमा पढिरहेको देखेका थिए। त्यसपछि उनीहरू सुते।

मध्य रातमा कविताकी दिदीको छोरा (बालक) वान्ता गर्न थालेपछि कविताको खोजी भएको थियो। उनकी दिदी बिरामी भएपछि उपचारका लागि बाँके गएकी थिइन। बोहोरा परिवारमा दुई छोरीमात्रै छन्।

खोज्दै जाँदा कविताको शव घरदेखि झन्डै १५ मिटर तलको गाईबस्तु बाँध्ने भकारोनजिकै फेला परेको थियो।

केही वर्ष पहिले सल्यानमा भएको यस्तै हत्याकाण्डको अनुसन्धान गर्न पनि भुन्टी कुकुर लगिएको थियो।

कविताको शव पोष्ट मार्टमका लागि अहिले जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्