माफी नमागेको भन्दै चीनले निकाल्यो तीन विदेशी पत्रकारलाई !


चीनले अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका तीन जना पत्रकारलाई देश निकाला गरेको छ। बुधबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले वाल स्ट्रिट जर्नलमा छापिएको लेखका कारण उनीहरूलाई देश निकाला गर्नु परेको बताए।

फेब्रुअरी ३ मा उक्त जर्नलले चाइना इज द रियल सिकम्यान अफ एसिया शीर्षकमा एउटा लेख प्रकाशित गरेको थियो। ‘सम्पादकहरूले जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समूदायमा घृणा र आक्रोश पैदा गरेका छन्,’ प्रवक्ता सुयाङले भने।

उनले त्यस्तो लेख छापिएपछि उक्त पत्रिकाले न सार्वजनिक रूपमा माफी मागेको नत यसमा संलग्नलाई कुनै कारबाही गर्ने जानकारी दिएको हुनाले उसका बेइजिङ ब्युरोमा कार्यरत पत्रकारको प्रेस पास फिर्ता लिने निर्णय भएको बताए। ती पत्रकारहरूलाई पाँच दिनभित्र चीन छोड्न समय दिइएको छ।

यसअघि मंगलबारमात्र अमेरिकी अधिकारीहरूले चीनका पाँच सरकारी सञ्चारमाध्यमलाई चिनियाँ सरकारको फैलिएको स्वरूपका रूपमा व्यवहार गर्ने बताएका थिए।