शान्तिदूत भगवान गौतम बुद्धसँग उनका चेलाले विभिन्न प्रश्न सोधिरहेका थिए । यही क्रममा चेलाले सोधे – गुरु हामीले तपाईंबाट धेरै कुरा सिक्ने अवसर पायौं । यसका लागि हामी धन्य छौं । तर तपाईंले मृत्युपछि मानिस के हुन्छ भन्ने कुरा बताउनु भएको छैन । यो कुरा पनि जान्न पाए थप धन्य हुने थियौं ।
भगवान गौतम बुद्धले मुस्कुराउँदै भने–हो मैले यो बारे बताएको छैन । आज बताउँछु तर त्यो अघि एउटा प्रश्न सोध्छु त्यसको जवाफ देउ है त ? चेलाले भने आज्ञा होस् गुरु ।
बुद्धले प्रश्न गरे – एकजना मानिस सुनसान जंगलको बाटो हिँडिरहेका बेला एक्कासी कतैबाट आएर एउटा विषालु वाण उसको शरीरमा घुस्यो । यो अवस्थामा त्यो व्यक्तिले तत्काल के गर्नु उचित हुन्छ ? पहिले शरीरमा घुसेको वाण हटाउनु ठीक हुन्छ कि त्यो वाण कसले चलाएको थियो, कताबाट आएको थियो भनेर पत्ता लगाउनु उचित हुन्छ ?
चेलाले जवाफ दिए – सबैभन्दा पहिले शरीरमा घुसेको वाण निकाल्नु उचित हुन्छ गुरु ।
चेलाको जवाफ सुनेपछि बुद्धले भने– हो तिमीले एकदमै ठीक जवाफ दियौ । अब म तिमीलाई अर्को प्रश्न सोध्छु त्यसको पनि जवाफ देउ ?
हामीले सबैभन्दा पहिले यो जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक कि मृत्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक ? बुद्धको प्रश्न सुनेपछि चेला शान्त बने । हो, अनावश्यक कुरामा टाउको दुखाउनु ठिक हुँदैन
प्रतिक्रिया