Logo

अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधामन्त्री केपी ओलीले राजीनामा गराउने भएका छन् !

सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधामन्त्री केपी ओलीले राजीनामा गराउने भएका छन् ।स्वीस कम्पनीका एजेन्टसंँग कमिसनको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ ।हिजो राती बाँस्कोटाको कमसिन मागेको अडियो टेप सार्वजनिक भएको थियो ।त्यस्तै नेपाली कांग्रेसले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ।

सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री बाँस्कोटाबीच भएको कमिसनको‘डिलिङ’को अडियो सार्वजनिक भएपछि कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल उनलाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको हो।

कांग्रेसले ठूलो रकमको अनियमितता भइरहेको अनुमानित विवरण यस अगाडि नै सार्वजनिक भएपनि स्वयम् सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक हुनु बलियो प्रमाण भएको उल्लेख गरेको छ।प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो हाम्रा कुरामार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ।

’सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो। बुधबार उक्त अडियो विभिन्न सञ्चारमाध्यमलाई दिइएको थियो। मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द पनि बोलेका छन्।उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो।

मानौ २५ निस्कियो भने कति हुन्छ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला की। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की ।’ त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाइलाई के गर्छन? छुट्टै गर्छन? मिश्रले भनेका छन् ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।

प्रतिक्रिया दिनुहोस्