आज गायक प्रमोद खरेल डोटीको दिपायलमा भएको प्रादेशिक महोत्सवमा सहभागी भएर काठमाडौं फर्कंदै थिए । उनी काठमाडौं आउनका लागि धनगढी विमानस्थल पुगे । विमानस्थलमा उडानको प्रतिक्षामा रहेका खरेलले विमानले उडान भर्नु भन्दा केही बेर अघि मात्र विमानस्थलमा प्रवेश गरेका सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटालाई देखे ।
सामाजिक सञ्जालमा सक्रिय रहने खरेलले मन्त्री बाँस्कोटालाई केही बेर नियाले । गायक खरेल र मन्त्री बाँस्कोटा एउटै विमानमा काठमाडौं आए । धनगढी विमानस्थलमा खरेलले मन्त्री गोकुल बाँस्कोटालाई देख्दा उनी ‘कुल’ थिए । उनको भावमा कुनै दबाव थिएन । मन्त्री बाँस्कोटा अरु बेलाजस्तै सामान्य अवस्था र हँसिलो मुद्रामा थिए ।
मन्त्री बाँस्कोटाको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको थियो भने उनलाई बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दललेसमेत माग गरिसकेको थियो । त्यसका कारण बाँस्कोटाको अनुहारमा तनावको अवस्था देखियो होला भन्ने प्रश्नमा गायक खरेलले भने, ‘उहाँमा नेचुरल भाव नै थियो, हाँसीरहनु भएको थियो त्यस्तो फरक केही पाइएन ।’बाँस्कोटा र प्रमोद त्रिभुवन विमानस्थलमा विमानबाट पनि एकसाथ बाहिरिए ।
प्रमोद साधारण व्यक्ति आउने बाटोबाट बाहिरिए भने बाँस्कोटा भीआईपी मार्ग तिर छिरे । मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेका छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया