भोलि महाशिवरात्रि पर्व, यस्तो छ शिवलाई खुसी पार्ने उपाय !
भगवान् शिवजी सर्वप्रथम प्रकट भएको समय नै शिवरात्रि हो । फाल्गुण कृष्णपक्ष, चतुर्दशी तिथिको रात्रिकालमा यस लोकको दृष्टिगोचरमा अनादि भगवान् शिवजी ज्योतिर्लिंग स्वरूपमा उत्पत्ति भएको धार्मिक विश्वास छ । हिन्दुहरूका आराध्य देव भगवान् शिवलाई चाँडै प्रसन्न तुल्याउन सकिने हुँदा ‘आशुतोष’ भनी पूजा–आराधना गरिन्छ ।
भगवान् स्वयं प्रकट भएकाले उक्त पवित्र रात्रिलाई महाशिवरात्रि भनिएको हो । भगवान् शिव अनादि, अनन्त, सर्वव्यापक र सनातन हुन ।
सम्पूर्ण चराचर जगतको सृष्टि, पालन र संहारका निमित्त ब्रह्मा–विष्णु–महेश त्रिविध स्वरूपधारी भगवान शिव नै हुन । सर्वप्रथम ज्योतिर्लिंग स्वरूपमा यस लोकको दृष्टिगोचरमा प्रकट भएको रात्रि भएकाले शिवरात्रि मानवमात्रका लागि अत्यन्त पवित्र मानिन्छ ।
सत्य युगमा समुद्रमन्थनका क्रममा निस्किएको हलाहल विषको भीषण ज्वालाबाट समस्त प्राणी जल्न लागे । यो देख्नासाथ भगवान् शिवले उक्त विष पान गरी कण्ठमा धारण गरे । विषको दाहले भगवानको कण्ठ नीलो हुनपुग्यो र भगवान् नीलकण्ठ नामले प्रसिद्ध भए ।
गमशास्त्र (श्रुति) का उपदेशक तथा प्रतिपाद्य भगवान् विष्णु हुन भने आगमशास्त्र अर्थात् तन्त्रका उपदेष्टा र आराध्य भगवान् शिव । यज्ञ र तपका पर्याय क्रमश: भगवान् विष्णु र शिव हुन । यज्ञरूप भगवान् विष्णु परम शैव र तपस्वरूप भगवान् शिव परम वैष्णव हुनुहुन्छ । भगवान् विष्णु तपस्वीहरूका सेवक, रक्षक हुन भने भगवान् शिव यज्ञका उच्छिष्ट भोजी । मन्यु, मनु, महिनस, महान्, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव र धृतव्रत भगवानका एकादश रुद्ररूप हुन् ।
सद्योजात, वामदेव, अघोर, तत्पुरुष र ईशान भगवान शिवका पाँचवटा मुख हुन् । सम्पूर्ण विद्या तथा कलाका आदि आचार्य भगवान् शंकर हुनुहुन्छ । माहेश्वरसूत्रबाट व्याकरणको उत्पत्ति भएको हो । संगीत भगवानकै डमरु नादबाट उत्पत्ति भएको हो भने नृत्यका विधायक उनै नटेश्वर भगवान् हुनुहुन्छ । आयुर्वेद, धनुर्वेद आदि समस्त ज्ञान भगवान् शिवबाटै देवता र लोकले प्राप्त गरेको विश्वास गरिन्छ । पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्त्व वर्णन गरिएको छ ।
यी मध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्त्व छ । सम्पूर्ण दीन दुःखी र संकटले घेरिएका प्राणीहरूको हृदयमा वास गरी कल्याण गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिन नै शिवरात्रि हो । व्रतहरूमध्ये सर्वोत्कृष्ट मानिएको महाशिवरात्रिका दिन भक्तहरूले शुद्ध भई शिव मन्दिरमा सभक्ति पूजा-आराधना गरी व्रत बस्ने र भगवान् शिवका प्रिय वस्तुहरू दूध, धतुरो, बेलपत्र आदि चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप गर्दा पनि कामना सिद्धि हुनुका साथै आजीवन सुखैश्वर्य र मृत्युपश्चात् शिवलोक प्राप्त हुने विश्वास गरिन्छ । शिवरात्रिमा निर्जल तथा निराहार व्रत, रात्रि जागरण, चारै प्रहरमा पूजा, शिवलिंगमा अभिषेक र शिव महिमा गायन शिवपूजनका मुख्य कर्म मानिन्छन् ।
पूजाविधि:
शिवरात्रिमा रातका चारै प्रहरमा भगवान् शिवको पूजा गर्ने विधान छ । प्रत्येक प्रहरमा षोडषोपचारले पूजा गरी विशेष अर्घ्य दिनुपर्छ । प्रथम प्रहरको पूजापछि शिवलिंगलाई दूधले विशेष स्नान गराएर बेलका पात वा फलसमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ;
ॐ नमो यज्ञ जगन्नाथ नमस्त्रिभुवनेश्वर ।
पूजां गृहाण मद्दत्तां महेश प्रथमे पदे ।
द्वितीय प्रहरको पूजापछि शिवजीलाई दहीले विशेष स्नान गराएर बिमिरो वा कागतीसमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ ।
ॐ नमोऽव्यक्ताय सूक्ष्माय नमस्ते त्रिपुरान्तक ।
पूजां गृहाण देवेश यथाशक्त्युपपादितम् ।।