Logo

महरा : ‘एमसीसी’ टेबुल गर्न नमान्दा जेल, मैले कुनै अपराध गर्‍या छैन ! (भिडियो)

आफूले कुनै गल्ती नगरेको पूर्वसभामुख कृष्णबहादुर महराले दाबी गरेका छन् । अदालतले जे फैसला सुनायो, त्यही नै सही भएको उनको जिकिर छ । जबर्जस्ती करणीको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाइ दिएको भोलिपल्ट मंगलबार इमेज समाचारसित कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘मैले कुनै गल्ती गर्‍या छैन । कुनै अपराध गर्‍या छैन’–उनले भने । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा आफूले ‘टेबुल’ गर्न अनुमति नदिएको समेत उनले उल्लेख गरे । ‘एमसीसी टेबुल गर्नको निमित्त अनुमति नदिएको मैले हो । त्यो साँचो कुरा हो । एमसीसी मैले नै उठान गर्‍यो हो । तर, एमसीसीको विषयमा सबैभन्दा बढी जानकार मै नै छु’–उनले भने ।

यद्यपि, एमसीसी संसदबाट अनुमोदन नै गर्नहुन्न भन्ने पक्षमा आफू नरहेको उनको भनाइ थियो । ‘टेबुल गर्न केही समय वेट गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । अनुमोदन नै गर्नुहुन्न भन्ने होइन’–उनले भने–‘एमसीसीको विषयमा एक ढंगले हल गर्नुपर्छ भन्ने मैले सोचिराखेको थिएँ ।’

उनले आफू जेल पर्नुमा त्यो पनि एउटा कारण भएको जिकिर गरे । ‘कारण त धेरै होलान्, त्यो पनि एउटा कारण हो । त्यो त प्रधानमन्त्रीजीले पनि भन्नुभा’छ’–उनले भने । उनले पुर्पक्षका लागि आफू जेलमा बस्दा राज्यलाई अझ राम्रोसँग बुझेको बताए ।

जेल परेको समयमा ठूला नेताहरुले आफूलाई नभेटेको उनले जानकारी दिए । उनले भने–‘ठूला नेताहरुले भेटेनन् । १० हजारभन्दा बढी कार्यकर्ताहरुले भेटे । शुभेच्छुक, समर्थकहरुले भेटे ।’ ‘अब बस्ने संसद बैठकमा जानुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने–‘नजाने भन्ने प्रश्नै छैन । म सांसदै हुँ ।’

प्रतिक्रिया दिनुहोस्