Logo

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा तेह्रथुम पुगेर २ हजार महिलालाई साडी बाँड्ने !


प्रधानमन्त्रीओली आफ्नो जन्मदिन मनाउन तेह्रथुम पुग्ने भएका छन् । यस अघि आज नेकपाका विभिन्न नेताहरुले वालुवाटारमा पुगेर उनलाई शुभकामना दिएका छन् । पाँचथरमा खानेपानी आयोजनाको उद्घाटन गरेर त्यसपछि हेलिकोप्टरबाट ओली जन्मघर जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीसँगै उनको जन्मघर पत्नी र बुवा एवम् अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री बीना मगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि कार्यक्रममा जाँदैछन् ।

प्रधानमन्त्री ओलीले २,००० ज्येष्ठ नागरिक महिलालाई सारी र पच्छ्यौरी, २,००० पुरुषलाई भादगाउँले टोपी र ज्याकेट अनि २,००० विद्यार्थीलाई डायरी र पेन दिने कार्यक्रम रहेको पनि प्रधानमन्त्री ओलीका बाल्यकालका साथी तथा प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाले जानकारी दिएको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ ।

जन्मदिनमा करिब तीनदेखि पाँच हजार मानिसलाई खाना खुवाउने गरी तयारी भएको कन्दङ्वाले बताए । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व हुनुभएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउएका छन् ।

प्रधानमन्त्री ओलीको ६९औँ जन्मोत्सवको सुअवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले प्रधानमन्त्री ओलीलाई निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गरेका छन् । “निडर, निश्चल, अडिग अनि जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीलाई जन्मदिनको सुअवसरमा सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सक्रियताको हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

सन्देशमा अगाडि भनिएको छ, “तपाईंको उच्च मनोवल, दूरदर्शिता, विकासका अवधारणा तथा हरेक प्रतिकूलतालाई समेत चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता हाम्रा लागि प्रेरणाका स्रोत हुन् । चुनौतीका रुपमा रहेको प्रतिकूल स्वास्थ्य अवस्थालाई गहिरो आत्मविश्वासले पराजित गर्न सफल अध्यक्षज्यूले आन्तरिक तथा बाह्य प्रहार, षड्यन्त्र आदिको सामना गर्दै त्यसलाई ऊर्जाको रुपमा परिणत गरेर राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणको आधार तयार पार्न खेल्नुभएको भूमिकाको प्रशंसा जतिनै गरे पनि कम हुन्छ ।”

“समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न यहाँको नेतृत्वमा तीनवटै तहका सरकार, जनताप्रति उत्तरदायी रहँदै जनताको सेवामा समर्पित भई समन्वयका साथ अघि बढी इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध छन्”, सन्देशमा मुख्यमन्त्री पौडेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्