Logo

लामो समयपछि नियमित काममा फर्किइन् रोशनी शाही !

पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाकी पीडित भनिएकी महिला नियमित काममा फर्किएकी छन् ।संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाही लामो समयपछि सोमबारदेखि नियमित काममा फर्किएकी हुन् ।

गत असोज १३ गते पूर्व सभामुख महरासँग ‘पारिवारिक सम्बन्ध’ रहेको बताउने शाहीमाथि महराले जबरजस्ती करणी प्रयास गरेको विषय सार्वजनिक भएको थियो ।पछि पीडित भनिएकी रोशनीकै उजुरीका आधारमा प्रहरीले महराविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरेको थियो ।

सोही प्रकरणमा करिब ३० दिन प्रहरी हिरासत र १ सय ३ दिन पुर्पक्षका लागि थुनामा बसेका महरालाई जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको थियो ।महरा निर्दोष ठहर भएसँगै प्रतिनिधिसभाको सदस्यका रुपमा उनीमाथि लागेको निलम्बन पनि फुकुवा भइसकेको छ । यद्यपि महरा भने संसद बैठकमा उपस्थित भएका छैनन् ।

महरा हाल आफ्नो निर्वाचन क्षेत्र दाङको भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस्