अन्ततः एमसीसीमा हारे केपी ओली, जित्यो भीम रावलको अडान !


कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता परिमार्जन गर्न राजी भएका छन् । प्रतिनिधि सभाबाट सम्झौता अनुमोदनका लागि हतारिरहेका ओली अन्ततः परिमार्जनका सम्बन्धमा अमेरिकी उच्च अधिकारीसँग कुरा गर्न तयार भएका छन् ।

पार्टीभित्र बहुसंख्यक नेताहरू एमसीसी अनुदान सम्झौता परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएको र पछिल्लो केन्द्रीय समिति बैठकले यस सम्बन्धमा अध्ययन गर्न बनाएको कार्यदलले समेत परिमार्जन गरेर मात्र अगाडि बढ्न सुझाव दिएपछि ओली लचक बनेका जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकमा कार्यदल संयोजकसमेत रहेका वरिष्ठ नेता झलनाथ खनालले अध्ययनका निष्कर्षबारे बिफ्रिङ गरे । यथास्थितिमा सम्झौता अनुमोदन गरेमा देशको स्वाधीनता र सार्वभौमिकतामाथि आँच आउने भन्दै परिमार्जनमा जानुपर्ने कार्यदलको निष्कर्ष उनने सुनाएका थिए । खनालले सम्झौताका राष्ट्रहीत विपरीतका बुँदाबारे पनि ब्रिफिङ गरेका थिए ।

‘कार्यदलका संयोजकले सम्झौतामा रहेका आपत्तिजनक विषयबारे बैठकलाई जानकारी गराउनुभयो । अब यसलाई जस्ताको तस्तै पास गर्नुहुन्न भन्ने हामी सबैको सहमति छ,’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘यसबारे अर्काे बैठकबाट निर्णय लिइने छ ।’

नेकपाले एमसीसी अध्ययनका लागि वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको कार्यदल बनाएको थियो । नेता रावलले एमसीसीभित्र भएका असमान र राष्ट्रघाती प्रावधानबारे सार्वजनिक गर्दै आएका थिए ।

कार्यदलले २० दिन लगाएर गरेको अध्ययनमा मूल सम्झौता गर्दा त्यसभित्र अर्थ मन्त्रालयले अन्य थप १४ वटा भित्री सम्झौता गरेको र त्यसमा त्रुटिपूर्ण प्रावधान भेटिएको प्रतिवेदनमा उल्लेख गरेको थियो । भित्री सम्झौता अर्थ मन्त्रालयले परराष्ट्रलाई समेत जानकारी नदिई गरेको प्रतिवेदनमा उल्लेख छ । भित्री सम्झौताका केही ठाउँमा सम्झौता नेपालको कानूनसँग बाझिएमा ‘न्युयोर्क स्टेट’को कानून हाबी हुने गरी गरिएको समेत आफूहरुले भेटेकाले सम्झौताका केही बुँदामा परिमार्जन गर्नुपर्ने कार्यदलको सुझाव छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

कार्यदलले प्रतिवेदन शुक्रवार पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई बुझाएको थियो । प्रतिवेदनमा सम्झौता परिमार्जनका लागि अमेरिकी उच्च अधिकारीसँग संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । तर प्रधानमन्त्री ओलीले प्रतिवेदन नआउँदै अमेरिकी प्रतिनिधिसँग संवाद थालिसकेका छन् ।

अमेरिकी कांग्रेसका सदस्य अमी बेरा नेतृत्वको चार सदस्यीय टोली अहिले नेपालमा छ । प्रतिनिधि मण्डलसँगको बिहीवारको भेटमा प्रधानमन्त्रीले एमसीसी सम्झौता केही बँुदा परिमार्जन गर्न तयार रहेको धारणा राखेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार खुलासा गरेका छन् ।

नवलपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दाहालले पत्रकारसँग भने, ‘हिजो (शुक्रबार) मात्रै प्रधानमन्त्रीजीले हामीलाई ब्रिफिङ गर्नुभएको थियो । अमेरिकी टोलीसँग कुराकानीमा एमसीसी भनेको केही पनि चेन्ज नै गर्न नहुने, जस्ताको त्यस्ता पास गर्नुपर्ने भन्ने कुनै बाइबल त होइन । हामीकहाँ केही कन्सर्न आए भने त यसलाई परिमार्जन गरेर, संशोधन गरेर पनि त लागू गर्न सकिन्छ भनेर अस्तिको दिन (बिहीबार) प्रधानमन्त्रीजीले नै बताइसक्नुभएको छ । उनीहरूले पनि त्यसलाई बाइबल हो भन्ने कुरा आएन ।’

प्रतिवेदन सचिवालय सदस्यहरुले अब दुई दिन अध्ययन गर्ने र त्यसपछि बैठक बसेर निर्णय लिइने नेकपाले जनाएको छ । महासचिव विष्णु पौडेलले भने, ‘एमसीसीका विषयमा बैठकमा रिभ्यु भएको छ । निर्णयमा पुगिसकेका छैनौं । अर्काे बैठकबाट हामी उचित निर्णयमा पुग्छौं ।’

एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा दर्ता भएपनि नेकपाभित्र विवाद रहेका कारण अनुमोदन हुन सकेको छैन । सरकारले २०७५ असार ३० गते सम्झौता अनुमोदनका लागि संसद्मा प्रस्ताव दर्ता गराएको थियो ।