Logo

गाउमै ऋण लिएर पाइलट बन्ने सपना बोकेर हिडेका गोविन्द र ललितलाई गाउ फर्किदा सम्मानै सम्मान !


रूकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १०का गोविन्द केसी हिजोआज सम्मान थाप्न व्यस्त छन्। आफू पढेको विद्यालय, क्याम्पस मात्र होइन गाउँपालिकाले पनि उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना सहित बधाई दिइरहेका छन्। सम्मान पाउनेमा केसी मात्र होइन उनका सहपाठी ललित भण्डारी पनि छन्।

गाउँकै विद्यालयबाट एसएलसी पास गरेका मध्यम वर्गीय परिवारमा जन्मेका उनीहरूले हालै पाइलट कोर्स पूरा गरेका हुन्। फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेर स्वदेश फर्केका उनीहरूलाई सम्मान थाप्न भ्याइ नभ्याइ छ। ‘त्रिचन्द्र क्याम्पसमा बिएस्सी तेस्रो वर्ष पढि रहेको थिएँ। त्यहीबेला अबसर मिल्यो, पाइलट कोर्स गर्न फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीमा गइयो।

१४ महिने कोर्स पूरा गरेर अहिले नेपाल फर्किसकेँ,’ २४ वर्षीय केसीले बुधबार भने। उनले सानैदेखिको आफ्नो सपना साकार हुँदै गएको बताए। ‘सानो हुँदा मलाई बाबु, तिमी ठूलो भएपछि के बन्ने भनेर मानिसहरूले सोध्थे’ पुराना कुरा खोतल्दै उनले भने ‘पाइ लट बन्ने भन्थें। बुझ्ने भएपछि मात्रै थाहा पाएँ, मेरो परिवारले पाइलट पढाउन खर्च व्यहोर्न नसक्ने रहेछ। त्यसपछि मैले विज्ञान पढेँ।’

केसीको पाइलट बन्ने सपनालाई आठबीसकोट नगरपालिकाले साकार बनाइ दिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले नै पाइलट बन्न ऋण उपलब्ध गराइदिएपछि केसी आफ्ना मित्र भण्डारीसँगै फिलिपिन्स गएका हुन्। ‘नगरपालिकाले ऋण नदिएको भए कहाँ सपना साकार हुने थियो र,’ उनले भने, ‘नगरपालिकालाई धन्यवाद छ।’ केसीसँग अहिले हातमा जहाज चलाउने सीप त छ तर लाइसेन्स निकालिसकेका छैनन्।

काम हातमा आइसकेको छैन । ‘लाइसेन्सको परीक्षा दिन बाँकी नै छ, जहाज उडाउन सक्ने त भइसकेँ,’ उनले भने। नेपाल नागरिक उड्ययन प्राधिकरणले पाइलट लाइसेन्सको परीक्षा लिन्छ । केसीलाई लाइसेन्स लिने मात्र होइन नगरपालिकाले पढ्न दिएको ५० लाख रूपैंयाँ ऋण तिर्नु पनि छँदैछ। ‘म पूर्वयोजना अनुसार नै ऋण तिर्दै जान्छु,’ उनले भने, ‘किस्ताकिस्तामा गरी ऋण तिर्न मिल्छ।’

उनले अधुरो छाडेको विज्ञान पनि पढाइ पूरा गर्ने अठोट राखेका छन्। नगरपालिकाले कसरी पाइलट पढाउन सहयोग गर्‍यो त? मेयर गोर्खबहादुर केसीले कार्यपालिका बैठककै निर्णय अनुसार विद्यार्थीलाई पाइलट पढाइएको बताए। ‘दुई जनालाई ५०/५० लाख ऋण दिएर पाइलट पढाएको हो,’ उनले भने, ‘आठबीसकोट बचत तथा ऋण सहकारी संस्थाबाट ऋण उपलब्ध गराएका हौं।’ उक्त ऋण दश वर्षमा विद्यार्थीले चुक्ता गरिसक्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्