दोलखा भीमेश्वर मन्दिरमा क्षमापूजा, राष्ट्रपति कार्यालयले भेटी र गृह मन्त्रालयले पठायो कालो बोका !


फागुन ८ गते दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि सम्भावित अनिष्ट टार्न राष्ट्रपतिको तर्फबाट मंगलबार क्षमापूजा गरिएको छ । शिलामा आएको पसिना पुछेको कपास सहित महाँप्रसाद राष्ट्रपति कार्यालय शितल निवास पु-याइएपछि क्षमापूजाका लागि राष्ट्रपति कार्यालयले भेटी र गृह मन्त्रालयले कालो बोका पठाएको हो ।

सरकारका तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा सहितको टोली र स्थानीय गुठियार, पुजारी र जनप्रतिनिधिहरुले संयुक्त रुपमा क्षमापूजा गरेका थिए। मंगलबार बिहान ९ बजेदेखि पाँच घन्टासम्म भीमेश्वरको शिलामा पूजा गरिएको थियो ।

भीमेश्वर शिलामा पसिना आउनुलाई राष्ट्रमा अनिष्ट हुने संकेतका रुपमा लिइने स्थानीय गुठियारहरु बताउँछन् । त्यसैदिन ७० करोड कमिसन काण्डमा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएका थिए ।