Logo

पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको सर्भे सकियो, चिनियाँ टोली फर्कदै !

दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ ।अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० वटा लाइनमा सेस्मिक सर्भे सम्पन्न भएको हो ।सर्भेमा भेटिनु भएका खानी तथा भूगर्भ विभागका भूगर्भबिद् डा. गणेशनाथ त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाइनमा बुधवार काम सम्पन्न भएको हो ।

उनले माघको दोस्रो साताभित्र सर्भे सम्पन्न गर्ने भनिए पनि बर्षाका कारण काम प्रभावित भएपछि फागुनको पहिलो साता काम सम्पन्न भएको बताए ।दैलेख जिल्लाको मुख्य तया दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई बिशेष केन्द्रित र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकालाई केही भूभाग समेटेर १० वटा सेस्मिक लाईनहरूमा जम्मा २०० लाइन किमी सर्भेका लागि चार सय बर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो ।

चिनियाँ प्राबिधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राबिधिक टोलीले आफूलाई जानकारी गराएको र जमिनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतहीमा अन्वेषणबाट पनि देखिएको उनको भनाइ छ ।

उनले सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्न सक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौर्गर्भिक संरचनाहरूले दैलेखमा पेट्रोलियमको भण्डार हुन सक्ने बलियो सम्भावना भएको जानकारी दिए।

भूगर्भविद् डा. त्रिपाठीले अन्वेषणका लागि तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० वटा सेस्मिक लाइनहरुमा सर्भे कार्य सकिएको र अव चिनियाँ प्राबिधिक टोली ची फर्कने र त्यसको नतिजा आउनासाथ मुख्य काम शुरु गर्ने बताए ।

अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक बिश्लेषण अन्तर्गत भण्डारको आकार, प्रकार आयातन, ब्यापारिक रुपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको बिश्लेषण गरी प्रमाणित भण्डार ब्यपारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन त्यसको निर्ष्कष निकालिने बताइएको छ ।

अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरी महत्वपूर्ण मानिएको सिस्मिक सर्भे हो ।यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरु जमिनको सतहमुनिको धेरै गहिराई सम्म पठाइएको थियो । भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले सतहमुनिका ठोक्किएर फिर्ता भएका तरङ्गहरुलाई सतहमा गाडिएका सेन्सरहरुमा
रेकर्ड राख्ने र रेकर्ड गरिएका बिभिन्न गहिराईबाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गहरुको सुक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गर्ने कार्यको शतप्रतिशत काम सम्पन्न भएको बताए ।

पहिलो चरणको काम सकिएपछि अव चिनियाँ प्राबिधिक टोली चाइना फर्केर त्यसको बिश्लेषण गर्ने र पेट्रोलियम पदार्थको अन्वेषणका लागि मुख्य ड्रिलिङ कुन स्थानबाट गर्ने भन्ने पत्ता लगाउन बित्तिकै टोली पुनः दैलेखमा फर्किने बताइएको छ ।

संबिधान जारी भएको बेला मधेशबादी दलहरुको समर्थन गर्दै भारतले गरेको तीन महिने नाकाबन्दी बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रहेको पेट्रोलियम पदार्थको अन्बेषण गर्ने घोषणा गर्ने थियो ।

चीन भ्रमण जानुभएका प्रधानमन्त्री ओलीले नेपालमा रहेको पेट्रोलियम पद्धार्थको अन्बेषण गर्ने सम्झौता गरेका थिए । नेपाल सरकार खानी तथा भूगर्भ बिभागका महानिर्देशक सोमनाथ सापकोटा र चाइना सरकारको जिओलोजिकल सर्बे कम्पनीबीच सम्झौता भएको थियो ।

तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे र चिनियाँ प्राबिधिक टोलीले दैलेखको श्रीस्थानमा पुगेर औपचारिक उद्घाटन गरेका थिए । यस्तै पूर्व उद्योगमन्त्री मातृका यादव लगायतको टोलीले पेट्रोलियम पदार्थको अन्वेषणका लागि स्थलगत अवलोकन गरेपछि चिनियाँ प्राबिधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका वडा १ र दुल्लु नगरपालिका दुल्लु अस्पतालमा बेस क्याम्प निर्माण गरी अन्वेषणको काम शुरु गरेको थियो ।

पेट्रोलिमय पदार्थ रहेको पुष्टि

दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्बेषणको क्रममा पेट्रोलियम पदार्थको र ग्यास भएको पुष्टि भएसंगै प्रधानमन्त्रीले देखेको सपना साकार हुने निश्चित भएको छ ।दैलेखका प्रतिनिधिसभा सदस्य रबीन्द्र शर्माले प्रधानमन्त्रीले देखेको प्रमुख सपना मध्येको नेपालमै पेट्रोलियम पदार्थको अन्बेषण गर्ने र उत्खनन् गर्ने सपना पूरा हुन लागेको बताए ।उनले अव दैलेखमा पेट्रोलियम पदार्थको भण्डारको मात्रा पत्ता लागेको खण्डमा हाम्रा ट्याङकर भारतको रक्सौल होइन दैलेखको श्रीस्थान आउने दावी गर्ने ।

प्रतिक्रिया दिनुहोस्