Logo

झुठो लान्छना र गालीबेइज्जती गरेको भन्दै गोकुल बाँस्कोटाले हाले जिल्ला अदालतमा मुद्दा !

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका छन्।

शुक्रबार उनले आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका हुन्। उनले कमिसनमा मोलमोलाइ गरेको अडिओमा बोल्ने विजयप्रकाश मिश्रलाई प्रतिवादी बनाएका छन्।

उनले ट्वीटरमा लेखेका छन्-मविरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु।

यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको बचाउ गरेका थिए। बिहीबार राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन प्रश्न उठेकाले राजीनामा दिएको बताए।

‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ। केही प्रमाण छैन,’ ओलीले भने,‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त अडिओ मेरो होइन भन्नुभएको छ। सत्यता पुष्टि भएको छैन। स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ।’

बाँस्कोटाले अहिलेसम्म सार्वजनिक रूपमा उक्त टेप आफ्नो नभएको बताएका छैनन्। प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरे।

‘भ्रष्टाचार भएकोजस्तो गरी प्रचार गर्नु जरूरी छैन,’ प्रधानमन्त्रीले भने,‘दोष भए उहाँले सजाय भोग्नु पर्छ। अहिलेसम्म उजुरी परेको छैन।’

उनले कसैले आफ्नो पनि नाम जोडेर उजुरी दिएको तर त्यो उजुरी पत्रु भएको बताए।

‘कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ। त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो,’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस्