Logo

भीम रावललाई सेनाले ‘भीआईपी’कक्षमा छिर्न नदिएपछि…

नेकपाका नेता भीम रावललाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जानबाट रोकिएको छ। पूर्व उपप्रधान तथा रक्षामन्त्री साथै सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य रावललाई विमानस्थलको विशिष्ट कक्षमा नेपाली सेनाले रोकेको हो। शनिबार बिहान श्री एयरको विमानबाट पार्टीको सुदूरपश्चिमस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमका लागि नेता रावल धनगढी आएका थिए। रावल नेकपाको सुदूरपश्चिम प्रदेश ईञ्चार्ज समेत हुन्।

विमानबाट झरेर विशिष्ट कक्षतिर लागेका रावललाई ढोकामा उभिएका सेनाले रोकेका हुन्। सेनाले हातको इशाराले रावललाई विमानस्थलको यात्रु मार्गतिर पठाइदिएको हो। रावलले भने विमानस्थलमा आफ्नो अपमान भएको प्रतिक्रिया दिएका छन्।

विमानस्थलबाट नेकपाको प्रदेश पार्टी कार्यालय पुगेका रावलले आफूमाथि विमानस्थलमा यस्तो व्यवहार भएकोमा अचम्म लागेको बताए। नेता रावलले विशिष्ट कक्षमा रोकिएपछि अचानक पत्रकार सम्मेलन समेत गरेका थिए। नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, सह–इन्चार्ज भानुभक्त जोशी र जिल्ला सदस्य दुर्गा प्रसाद जोशीले आफूलाई देखे पनि विशिष्ट कक्षमा जान नभनेको गुनासो गरे।

‘मैले पार्टीका प्रदेश अध्यक्ष, सह इन्चार्ज र जिल्ला सदस्यलाई विशिष्ट कक्षमा जान देखिरहेको छु, तर मलाई भित्र जानबाट रोकियो’ नेता रावलले भने। ‘त्यसमा सेनाको कुनै दोष छैन।’ उनले सेनाले, आदेशको मात्रै पालना गर्ने भएकाले उसले रोक्नु स्वभाविक भए पनि पार्टीका नेताहरुले आफ्नो अपमान गरेको संकेत गरे।

उनी आएकै श्री एयरको जहाजमा, राष्ट्रपति विद्यादेवी भण्डारीको पनि शनिबार बिहान काठमाण्डौं फर्किने टीकट थियो। राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो चार दिनदेखि सुदूरपश्चिमको भ्रमणमा थिइन्।

राष्ट्रपति भण्डारीका लागि धनगढी विमानस्थलको विशिष्ट कक्ष बिहानैदेखि कडा सुरक्षा घेरामा राखिएको थियो। नेपाली सेनाले दुईवटा कुकुर सहित चेकजाँच गरिराखेको विशिष्ट कक्षमा रावललाई प्रवेश निषेध गरिएको हो।

रावलले गरेको पत्रकार सम्मेलनपछि पार्टीको प्रदेश कार्यालयमै भेटिएका जोशीले भने ‘रावल कमरेडले पनि के भइरहेको छ ? किन रोकेको हो ? भनेर केही भन्नु भएन, उहाँ सिधै यात्रुले प्रयोग गर्ने बाटोतिर लाग्नु भयो र गाडी चढेर हिँडिहाल्नुभयो’ सहइन्चार्ज जोशीले भने। जोशीले, यसलाई पत्रकार सम्मेलन नै गरेर सार्वजनिक नगरेको भए हुने प्रतिक्रिया दिए।

‘अब राष्ट्रपति ज्यूको सुरक्षा टीमको आफ्नै योजना हुन्छ, एक पटक हामीहरुलाई पनि बाहिर निकालिदिएको थियो’ जोशीले भने, ‘रावल कमरेड आफ्नै पाराले हिँडिहाल्नुभयो, उहाँलाई हामीले पनि रोक्न सकेनौँ, दुबै पक्षबाट गल्ती भयो।’

सेनाले विशिष्ट कक्षमा जानबाट रोकेपछि पनि रावलले कोही नेता आउँछन् कि भनेर यात्रु प्रतिक्षालयमा ६ मिनेट बसेको बताए। ‘मलाई भित्र जानबाट रोकेको तीनै जनाले देख्नु भएको छ, आउलान र जाउ भन्लान् कि भनेर म बाहिर बसे पनि। तर कोही आउनु भएन, म गाडी चढेर हिँडिहालेँ’ रावलले भने।

रावलले आफूमाथि भएको यो अपमान खेदजनक भएको बताएका छन्। यसवाहेक राष्ट्रपतिको भ्रमण बारे पार्टी प्रदेश सचिवालले पनि आफूलाई कुनै जानकारी नदिएको रावलले बताए। ‘राष्टपतिको कार्यक्रमका बारेमा मलाई जानकारी दिनुपथ्र्यो तर केही दिइएन, विमानस्थलमा पनि भेटिएका नेताहरुले कुनै रेस्पोन्स गरेनन्’ नेता रावललको गुनासो थियो। रावलले विमानस्थलमा यात्रुले प्रयोग गर्ने मार्गबाट गाडी चढेर निस्केको केही समयपछि मात्रै राष्ट्रपति भण्डारीको कारगेट विमानस्थल पुगेको थियो।

धनगढीमा जारी विश्व साहित्य सम्मेलनको उद्घाटनका लागि फागुन १४ गते धनगढी आएकी राष्ट्रपति भण्डारी चार दिनपछि काठमाडौं फर्कन लागेकी हुन्। नेता रावल माधव नेपाल समूहका नेता हुन् भने कर्ण थापा र भानुभक्त जोशी ओली समूहका नेता हुन्। पछिल्लो समय नेता रावलले प्रधानमन्त्री ओलीको कार्यशैलीको कडा आलोचना गर्दैआएका छन्।

प्रतिक्रिया दिनुहोस्