Logo

ममाथि ठूलो धनराशी खर्च गरेर षड्यन्त्र भएको छ: मुख्यमन्त्री राई

दोलखाकी बालिका खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेकी छन्।

‘नाता कायम गरी अंश दिलाइ पाऊँ’ भन्दै उनले शुक्रबार मुद्दा दिएकी हुन्। खड्काले दिएको मुद्दामा मुख्यमन्त्री राईले शारीरिक यातना दिएको र यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छन्।

खड्काले मुद्दा दिएको भोलिपल्ट मुख्यमन्त्री राईले प्रेस संगठन प्रदेश नम्बर १ ले गरेको कार्यक्रममा आफूविरूद्ध ठूलो धनराशी खर्च गरी षड्यन्त्र भएको बताएका छन्।

कार्यक्रममा मुख्यमन्त्री राईले राखेको धारणाको अंश:

मैले केही कुरा बोलिनँ भने आफैं अन्यायमा पर्ने देखेको छु। अब मैले बोल्ने बेला आयो। म यहाँहरूको थौरै समय लिन चाहन्छु।

त्यो मसँग सम्बन्धित छ। म विरूद्ध २०७२ सालबाट एउटा षड्यन्त्र सुरू भएको छ। म सञ्चार मन्त्री भएको दुई/तीन महिनापछि त्यो षड्यन्त्र सुरू भयो।

मविरूद्ध विभिन्न ठाउँमा बैठकहरू बसे। एउटा गिरोह त्यसमा सक्रिय भयो। केही पात्रहरूको खोजि गरियो, पात्रहरूको खरिद गरियो। र त्यसपश्चात ममाथि त्यसलाई प्रयोग गरियो।

हिजो मात्रै एउटा कुन अदालतमा मुद्दा दर्ता भयो भन्ने कुरा सामाजिक सञ्जालमा आइरहेको छ। ०७२ सालेदेखि लगातार मौसमअनुसार सामाजिक सञ्जाल र केही सानामसिना अनलाइनहरूमा मेरो प्रसंगमा केही कुराहरू आइरहेको यहाँहरूलाई सर्वविविधै छ।

बोल्ने उपर्युक्त समयको पर्खाइमा थिएँ म। आजसम्म यस प्रसंगमा मैले बोलेको थिइनँ। किनभने मेरो कुनै दोष छैन, कुनै कमजोरी छैन। जुन पात्रको कुरा छ ती पात्रसँग मेरो कहिल्यै चिनजान भएको र बोलचाल भएको पनि छैन।

म सञ्चारमन्त्री भएको तीन महिनापछि फटाफट मेरो नम्बरमा म्यासेज आउँछ, त्यो म्यासेज एउटा दुइटा होइन। सयौंको संख्यामा आउँछ। भोलिपल्ट पनि आउँछ। मलाई म्यासेज आएको नम्बरमा कल ब्याक गर्छु र को मान्छे हो भनेर म चिन्न खोज्छु। नामसम्म थाहा हुन्छ। त्यसपछि मैले फोन राख्छु। तर म्यासेज लगातार आयो।

त्यसपछि मैले ती म्यासेजहरूलाई जस्ताको त्यस्तै मोवाइलमा राखेर मैले सञ्चारमन्त्रीको हैसियतमा सरकारको प्रवक्ता हैसियतमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले देखाएँ। उहाँ पनि अचम्मित हुनुभयो। यसभन्दा अगाडि पनि तपाईंका बारेमा एउटा गलत पोको लिएर मान्छेहरू यहाँ आएका थिए। आज प्रमाणित भयो कि तपाईंमाथि ठूलो षड्यन्त्र भएको रहेछ। त्यो कुरा पुष्टि भयो। अब तपाईं ढुक्कले केही विचलित नभईकन आफ्नो काममा अगाडि बढ्नुस् र कसैलाई कुनै प्रतिक्रिया नदिनुस्। मैले मान्छे चिनेँ। मैले बुझेँ, प्रधानमन्त्रीज्यूले भन्नुभयो।

तर म्यासेज र मलाई त्यसप्रकार ह्यारेस्ट गर्ने काम रोकिँदैन। त्यसपश्चात जब सरकारबाट हामी बाहिरियौं त्यसपश्चात मैले सात पेजको म्यासेज प्रिन्टआउट गरेर ती पात्रले मेरो मोवाइलमा छ वटा नम्बरबाट पठाएका म्यासेजहरू प्रिन्टआउट गरेर त्यो गिरोहको एउटा नाइके जसको नाम किटानी गरेर मैले पार्टीमा एउटा एजेन्डा मैले दर्ज गरेँ। पोटिटव्युरो बैठकमा।

मैले पार्टी अध्यक्षसँग औपचारिक अनुमति मागेर एजेन्डा दर्ज गरेर पोलिटव्युरो बैठकमा दुई घण्टा छलफल भयो। बैठकमा एकमतले ती पात्र गलत हुन् भन्ने कुराको निश्कर्ष निस्क्यो।

एउटा छानविन समिति गठन गरेर त्यस गिरोहमा त्यस अपराधमा जसले मेरो व्यक्तिगत राजनीतिक जीवनलाई समाप्त गर्नको निम्ति करोड पैसा खर्च गरेर क्रियाशील छ, सक्रिय छ। त्यो गिरोहलाई बाहिर ल्याउने हिसावबाट एउटा छानविन कमिटी बनोस्। त्यो बनाइयोस् मैले आग्रह गरेँ। अध्यक्षले स्थायी कमिटीबाट आवश्यक निर्णय लिने र उहाँले निश्कर्ष सुनाउनुभयो र बैठक सकियो।

मैले पार्टी अध्यक्षसँग अनुमति मागेर सात पेज म्यासेजसहित छ नम्बरसहित मैले सिआइबीमा आवश्यक अनुसन्धानको निम्ति मैले निवेदन गरेँ। प्रहरीले प्रारम्भिक मान्छेमाथि अध्ययन गर्‍यो कि यी मान्छे स्वभाविक मनस्थितिमा छैनन्। त्यसो हुँदा अहिले कारबाही अघि नबढाऔं हामी अध्ययन अनुसन्धान गर्छौं भन्ने कुरा त्यतिबेलाको डिआइजी अहिले प्रतिनिधिसभा सांसद हुनुहुन्छ, नवराज सिलवाल उहाँले त्यो जवाफ दिनुभयो।

यसबारे मैले आजका मितिसम्म कहिँकतै प्रतिक्रिया दिएको थिइनँ। तर लगातार लगातार ममाथि त्यसप्रकारको षड्यन्त्र र गिरोह के कारणले हो मलाई थाहा छैन। म सबैलाई भन्न सक्छु शिर ठाडो पारेर, म भुइँबाट आएको मान्छे हो।

म विकट गाउँमा जन्मेको मान्छे हो। भुइँबाट आएको मान्छे कम्युनिष्ट पार्टीको सदस्यता लिएर जे जिम्मा पायो पाएको जिम्मा राम्रो र फत्ते गर्दै यो ठाउँमा आएको मान्छे हो। म कसैको चाकडी गरेर आएको होइन।

कसैको आशीर्वादप्राप्त गरेको होइन। म मिडियाबाजी गरेर, प्रचारबाजी गरेर अनेकथोकको साहरा लिएर आएको मान्छे होइन। मेरो जीन्दगी शतप्रतिशत पारदर्शी छ।

म चुनौती दिन चाहन्छु सबैलाई आर्थिक र नैतिक मामलामा आजका मितिसम्म कसैले पनि खोट लगाउन सक्ने ठाउँ मैले बनाएर राखेको छैन। म यो कुरा स्पष्टसँग भन्न चाहन्छु।

यसका बारेमा बोल्ने समयको पर्खाइमा थिएँ भनेर मैले अघि भनिसकेँ। किनभने मलाई यसबारेमा पुलिसले पनि नबोल्न, प्रतिक्रिया दिनुको अर्थ छैन भन्यो। पार्टीले पनि भन्यो। तर आज बोल्नुपर्ने फन्डा ठ्याक्कै आयो। अब दुधको दुध पानीको पानी छुट्टिने समय आयो। केहीदिनमा यो छुट्टिन्छ यहाँहरूले थाहा पाउनुहुन्छ।

कुनै भ्रम नरहोस् कि यो काहीँ चुकेको थियो कि। यसले काहीँकतै गल्ती गरेको थियो कि यस्तो भ्रम यहाँहरू कसैले पनि नराखिदिनुहोला।

प्रेस संगठनको यो प्रदेशभरिको मिडिया क्षेत्रमा काम गर्ने साथीहरू यहाँ हुनुहुन्छ। यो मामिलामा मिडियाहरू दुरूपयोग भएका छन्। मिडिया किनिएका छन्। त्यसको पनि खोजि गरिदिन म आग्रह गर्न चाहन्छु।

आधा घण्टामा पत्ता लगाउनुहुन्छ पात्रहरू को हुन् मिडियामा यो खेतीमा लाग्नेहरू। त्यो कुन अनलाइन हो धेरै समय लाग्दैन। १५/२० मिनेटमा पत्ता लगाउन सक्नुहुन्छ। यो धन्दामा सामेल मान्छेहरू को-को छन् भन्ने मान्छेहरू पनि तपाईं पत्ता लगाउनुहुन्छ। मैले पार्टीमा नाम नै तोकेर दिएको छु।

कतिपय पात्रहरूको नाम त्योबेलामा राखिनँ होला। तर मुल मान्छेको नाम किटानीका साथ मैले राखेको छु। सायद विश्वको कम्युनिष्ट आन्दोलनमा ममाथि जुन खालको षड्यन्त्र भएको छ यो षड्यन्त्र कम्युनिष्ट पार्टीमा सायद अहिलेसम्म भएको छैन होला। हुँदैन होला।

चुनावका बेला ममाथि दशवटा गोली र एउटा बम प्रहार गरियो। त्यो तर्साउनका लागि होइन। ठाउँका ठाउँ सिध्याउनका निम्ति ममाथि त्यो आक्रमण भएको थियो। यो घटनालाई पनि जोडेर पार्टीभित्र ध्यान आकर्षित गरेको छु।

त्यसैले वास्तविकता, तथ्य यो हो। बोल्ने बेला आएको हुनाले मैले आज यति कुरा राखेँ। कुनै भ्रम नरहोस्। अनेक घटना आइरहेका छन् त्यही मेलोमा यसलाई जोडेर ल्याउन खोजिराखिएको छ। तर कुनै पनि भ्रमहरू नराख्नको निम्ति म आग्रह गर्न चाहन्छु।

देश र जनताको शिर निहुरिने गरिकन झुक्केर पनि मबाट गल्ती हुँदैन। त्यति कुरा दावाका साथ म भन्छु। म फुकीफुकी पाइला चाल्ने, बोल्ने मान्छे। नैतिक मूल्यको जगमा निष्ठामा जनता र देशप्रति प्रतिवद्ध भएर काम गर्दै आएको म सिपाही हुँ।

यस्ता षड्यन्त्रहरूको पर्दाफास कसरी गर्न सकिन्छ? तपाईंहरूले सहयोग गरिदिनुस्। मेरो अपिल छ। यो षड्यन्त्र गम्भी छ, सामान्य छैन। ठूलो धनराशी खर्च गरेर एउटा इमान्दार कम्युनिष्ट पार्टीको कार्यकर्ता सिध्याउनको निम्ति चालिएको कदम छ, गिरोह छ त्यो गिरोह अध्ययनबाट बाहिर आउनुपर्छ। यस्तो खेती र धन्दामा कम्युनिष्ट पार्टीको सदस्य कोही नलागोस्। यो कुरामा सबै साथीहरूले साथ दिनुहुनेछ भन्ने कुरा राख्दै धन्यवाद।

प्रतिक्रिया दिनुहोस्