नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरिसक्ने बित्तिकै जुत्ता प्रहार भयो । त्यसको लगत्तै अध्यक्ष दाहालको सुरक्षार्थ खटिएका सुरक्षकर्मीले जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिए ।
उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीको सोधपुछ अनुसन्धान पछि उनको पहिचान खुल्यो । उनले प्रहरीसमक्ष आफ्नो घर जुम्ला सिञ्जा र नाम रतन तिरुवा भएको बताएका छन् ।
उनले आफ्नो बुबाले माओवादी जनयुद्धको क्रममा ज्यान गुमाएको बताएका छन् । साथै उनी हाल काठमाडौंमै बसेर लोकसेवाको तयारी गरिरहेकोसमेत प्रहरी सोधपुछमा खुल्यो ।
उनले अध्यक्ष प्रचण्डको भाषाप्रति चित्त नबुझेपछि आफू आबेगमा आएर जुत्ता प्रहार गरेको बताए । प्रहरीका अनुसार उनले भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेको बताएका छन् ।
राष्ट्रिय सभागृहमा आइतबार आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा सम्बोधन गरिसक्ने बित्तिकै अध्यक्ष प्रचण्डमाथि उनले जुत्ता प्रहार गरेका थिए । यद्यपि अध्यक्ष प्रचण्डलाई जुत्ताले भने लागेको थिएन ।
प्रतिक्रिया