Logo

कोरोना प्रभावित देशमा जाने कामदारलाई रोक्ने तयारी !

सरकारले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गर्ने तयारी गरेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्वोच्च अदालतको आदेश अध्ययन गरी मंगलबार नै यसबारे निर्णय गर्ने बताएको छ ।सोमबार सर्वोच्च अदालतले कोरोना संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई आदेश दिएको थियो ।श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले सर्वोच्च अदालतको आदेशपछि कोरोनाबाट प्रभावित देशहरुमा जाने कामदार रोक्न छलफल सुरु भएको बताए ।

‘बेलुकासम्म कहाँ–कहाँ जाने कामदार रोक्ने भन्ने निर्णय लिन्छौं,’ उनले भने, ‘कामदारहरुलाई पनि अवस्था विश्लेषण गरेर मात्रै रोजगारीमा जान आग्रह गर्छौं ।’ उनले सर्वोच्चको लिखित आदेश मन्त्रालयमा मगाइएको जानकारी पनि दिए ।वैदेशिक रोजगार विभागले कोरिया जाने कामदारलाई यसअघि नै जान रोकेको थियो । ईपीएस कोरिया शाखाले त्यहाँ कोरोना ब्यापक रुपमा फैलिएपछि कामदारलाई कोरिया पठाउने तालिका सार्दै आएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल सरकारले कतिपय देशमा सीधा उडान नै रोक्न तयारी गरिरहेकाले त्यहाँ जाने कामदारलाई के गर्ने भन्नेबारे छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्