Logo

हेर्नुस त काठमाडौंमा पनि खुवाउन थालियो १० रुपैयाँमा पेटभरि खाना

काठमाडौं – छोरो बिरामी भएपछि उदयपुरका टेकबहादुर बस्नेत काठमाडौं आएको दुई साता भयो। गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले उनका छोरा कुलदीपलाई चार दिनअघि पाटन अस्पतालमा ‘रिफर’ गर्‍यो । आइतबार बिहान ११ बजेतिर खाना खान अस्पतालबाहिर निस्किए। बिरामी छोरालाई पनि खाना ल्याउन उनले हातमा ‘हटकेस’ बोकेका थिए ।

होटल जाँदै गर्दा एक युवाले सञ्चयकोष भवनको आँगनमा खाना खान बोलाए। उनी जाने कि नजाने अलमलमा परे । अनि सोध, ‘बिरामीलाई पनि खाना लैजान पाइन्छ र खाना वितरणमा बसेका स्वयंसेवकले बिरामीलाई पनि लैजान दिने बताएपछि बस्नेत खाना खान अघि सरे।

१० रुपैयाँमा एक टपरी खाना पाइन्छ तर प्याकिङ गरेर लैजान नपाइने व्यवस्थापकको नियम छ। १० रुपैयाँ तिरेपछि खाना खुवाउन खटिएका स्वयंसेवकले उनलाई टपरी हातमा थमाए। टपरीभरि खाना थापे ।

तरकारी थियो– केराउ र पनिरमा झोल राखेको । तरकारीमा मसला, पिरो र नुन कमै थियो । उनले खाना आए अनि छोरालाई हटकेसमा राखेर अस्पतालतिर लागे। ‘अरू बेला एक सय २० रुपैयाँ पर्थ्यो । आज २० रुपैयाँमै दुई जनालाई पुग्यो,’ खुसी हुँदै उनले भने, ‘भाग्यमानीको भूतै कमारो । गरिबदुःखीका लागि राम्रो काम हो।’

सातदोबाटोको प्रिमियर इन्टरनेसनल एकेडेमीले तीन सातादेखि लगनखेलमा १० रुपैयाँमा खाना खुवाइरहेको छ । ‘विद्यालयमा विद्यार्थीलाई जुन चामल खुवाउने हो, त्यही यहाँ पनि खुवाइरहेका छौं,’ प्रिमियर स्कुलकी प्रिन्सिपल पवित्रा लिम्बूले भनिन्, ‘कुक पनि उही हो । हामीले व्यवस्थापन मात्रै गरेका छौं।’

१० रुपैयाँमा खाना खान पाइने भएपछि साढे १० बजेअघि नै सर्वसाधारण आइसकेका थिए । नियमित खाना खानेमा अस्पतालका बिरामी मात्रै होइन, लगनखेल बस स्टप हुँदै गाडी चलाउने चालक, परिचालक र हेल्परसमेत थिए।

यस्तै अस्पतालका कर्मचारी, वरिपरि पसलमा काम गर्ने व्यक्ति पनि खान खान आइपुगेका थिए । यहाँ हरेक आइतबार साढे १० देखि साढे १२ बजेसम्म १० रुपैयाँमा खाना खुवाउने व्यवस्था गरिएको छ।

बाटोमा हिंड्ने सबैलाई खाना खान बोलाउन र वितरण गर्न प्रिमियर स्कुलमा कक्षा आठ नौं र १० का विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक स्वयमसेवक भएर खटिएका छन् । १० रुपैयाँमा खाना भन्दा अनौठो मान्ने पनि हुन्छन् ।

सस्तोको खाना भनेर नखाने पनि हुन्छन् । बच्चालाई मानवीयता र सहयोगको भावना सिकाउन सातामा एक पटक सस्तोमा खाना खुवाउन लागिएको लिम्बुले बताइन् ।

यस अघि बिराटनगर बाट शुरु भएको १० रुपैयामा खान खुवाउने अभियान क्रमिक रुपमा अन्यत्र जिल्लामा पनि सर्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्