ग्लोवल कलेजमा एमबीएमा अध्ययनरत रक्षा खनाल सर्जिकल माक्स खोज्दै वानेश्वरको सिभिल अस्पताल परिसरमा पुगिन् । कोरोना भाइरसको त्रासका कारण स्यानिटाइजर र सर्जिकल माक्स खोज्न निस्कएकी खनालले अस्पतालभित्रको औषधि पसल पुगेर पाँच रुपैयाँ पर्ने मास्कलाई एक सय रुपैयाँमा किनिन् ।
ह्याण्ड वासर र स्यानिटाइजर भने वानेश्वर भरका मेडिकल पसल चहार्दा पनि नभेटेपछि उनी रित्तो हात फर्किइन् । बजारमा पाँच रुपैयाँ खुद्रा मुल्यमा पाउने मास्क धेरैवटा पसल चहार्दापनि नपाएपछि एक सय रुपैैयाँ तिरेरै भएपनि खरिद गरेको उनी बताउँछिन् ।
‘मास्क यतिधेरै महंगो छ । झन स्यानिटाइजर त पाउन नै छोडिसकेछ,’ बुधवार बानेश्वर चोकमा भेटिएकी क्षेत्रमै भेटिएकी खनाल भन्छिन्, कोरोनाको त्रासका नाममा बजारमा मास्कदेखि खाद्यान्नसम्मको कालोबजारी शुरु भइसकेछ ।’
त्रासको नाममा भएको कालोबजारीको शिकार बन्ने खनाल प्रतिनिधि पात्र मात्र हुन । अहिले बजारमा सर्जिकल मास्क र स्यानिटाइजर जस्ता सामग्री खोज्दै भौतारिने ग्राहकको संख्या अत्याधिक छ । जसको फाइदा सरकारी र निजी अस्पतालका औषधि पसलले मात्र होइन, उपत्यकाका सबै औषधि पसलले खुलेआम उठाइरहेका छन् ।
तर बजार अनुगम गर्ने सरकारी संयन्त्र भने मास्कलगायत खाद्य सामग्रीको कालोबजारी चुलिदासम्म बेखवर छ । उद्योग, वाणिज्य तथा आपूर्ति विभागको अनुगमन शाखाका अधिकृत दिपकराज पोखरेल बजारमा मास्कको कालोबजारी भएको बिषयमा जानकारी नभएको बताउँछन् ।
‘वढीमा बेचेको छ र हामीलाई यस बिषयमा थाहा छैन त,’ उनी भन्छन् ।
सरकारी अस्पताल छेउछाउका औषधि पसलहरुमा पनि ५ रुपैया पर्ने मास्क ५० रुपैया भन्दा तल पाइदैन । बानेश्वर मै रहेको एभरेष्ट अस्पताल छेवैको औषधि पसलमा ६० रुपैयासम्ममा मास्क बिक्री भइरहेको छ ।
५ रुपैयाँ खुद्रा मुल्यको मास्क सिभिल अस्पताल परिसमार एक सय रुपैयाँ, भक्तपुरको ठिमीक्षेत्रमा ४० रुपैयाँ, बुद्धनगरमा ६० रुपैयाँ, नर्भिक अस्पताल छेउछाउका पसलहरुमा ४० देखि ८० रुपैयासम्ममा विक्री भइरहेको छ ।
रत्नपार्क क्षेत्र, गठ्ठाघर, ललितपुरको चापागाउँ, बालाजु, कलंकी, बानियाटारलगायतका क्षेत्रमा रहेका औषधि पसलमा भने मास्कनै भेटिन छाडेको छ । नीजि औषधी पसल भन्दा सरकारी अस्पताल भित्रै सर्र्जिकल मास्क चरम महंगो भइरहेको छ । वीर अस्पताल, प्रसुती गृह, नर्भिक अस्पताल, सिभिल अस्पताल र एभरेष्ट अस्पताल परिसर भित्रै व्यापारीले मनोमानी रुपमा मुल्य निर्धारण गर्दै मास्क विक्री गर्दै आइरहेका छन् ।
प्रतिक्रिया