Logo

काेराेना भाइरस : पछिल्लाे २४ घण्टामा चीनमा कसैकाे पनि ज्यान गएन, १२ नयाँ बिरामी थपिए

काठमाण्डाै – कोभिड १९ अर्थात् कोरोना भाइरसको उद्गमस्थल चीनमा गएकाे २४ घण्टामा कसैकाे पनि ज्यान गएकाे छैन । पछिल्लाे २४ घण्टामा १२ जना नयाँ बिरामी थपिएका छन् ।

चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घटे पनि विश्वका अरु देशमा सङ्क्रमितसँगै ज्यान गुुमाउनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण गएको २४ घण्टामा विभिन्न देशमा थप ५२ जनाको ज्यान गएको छ भने दुई हजार एक सय ५९ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

५१ हजार चार सय ४९ जना उपचारपछि घर फर्किएका छन् । ९५ हजार एक सय ८० जनामा सङ्क्रमण देखिइसकेकाे छ । अहिलेसम्म तीन हजार दुई सय ५४ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म ८४ देशमा फैलिएको छ ।

काेराेनाकाे सङ्क्रमण बढेसँगै इटलीले आजदेखि १० दिनसम्म सबै स्कुल बन्द गर्ने घोषणा गरेको छ । यस्तै सिरी ए फुटबलसहित व्यवसायिक फुटबल खेल एक महिनाका लागि बन्द गरिएकाे र पछि खेलाउने निर्णय गरिएको इटली सरकारले जनाएको छ । कोरोना भाइरसका कारण इटालीमा एक सय सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

यसअघि कोरोनाको उद्गमस्थल चीनसँगै हङकङ, जापान, इराक र संयुक्त अरब इमिरेट्स यूएईले यसअघि नै स्कुल बन्द गर्ने निर्णय गरिसकेका छन् । यस्तै फ्रान्सले पनि एक सय २० भन्दा धेरै स्कुल बन्द गरेको छ । यसबाट लाखौं विद्यार्थी प्रभावित भएका छन् ।

सुरुमा रुघाखोकी र उच्च ज्वरो आउनु, शरीरका मासु दुख्न थाल्नु अनि बिस्तारै सास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । बारम्बार साबुनपानीले हात धुने, वरिपरि सरसफाइ गरिरहने, रुघाखोकी लागेका व्यक्तिबाट टाढै बस्ने, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले नाकमुख छोप्दा यसबाट बच्न सकिन्छ ।

साथै टिस्युले पुछेको भए राम्ररी बन्द गरिएको डस्टबिनमा फाल्ने गर्दा पनि कोरोनासँगै अरु सङ्क्रमण फैलनबाट जोगिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्