Logo

‘अप्रेसन क्रिटिकल थियो, प्रधानमन्त्रीको शरीरले कसरी रिकभर गर्छ पर्खाइमा छौं’!(हेर्नुहोस भिडियो )

 

 

त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभाग अन्तर्गत दोस्रो तल्लाको अप्रेसन थिएटर।प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई बिहान साढे ९ बजे अप्रेसन थिएटरमा पुर्‍याइयो। त्यसपछि मिर्गौला निकाल्न उनलाई बेहोस बनाइयो।

१० बजेर ५ मिनेट जाँदा प्रधानमन्त्री ओलीलाई पनि सँगैको कोठामा लगियो।शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. अनन्तकुमार र प्रा.डा.पवनराज चालिसे थिए भने प्रत्यारोपण टोलीमा प्रा.डा. दिव्यसिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, रविन नेपाली।यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य लगायतको टोली थियो।

प्रधानमन्त्रीको दोस्रो मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दबाबमा थिए सबै चिकित्सक।एक त प्रधानमन्त्रीको ढल्किँदो उमेर, त्यसमाथि दोस्रो पटकको मिर्गौला प्रत्यारोपण। विभिन्न रोगको औषधी खाइरहेको प्रधानमन्त्रीको प्रत्यारोपण गर्नु जोखिमरहित थिएन।
देशकै उच्च पदस्थको मिर्गौला प्रत्यारोपण गर्ने कुरा चिकित्सकका लागि सुखद् थियो, सँगसँगै चर्को दबाब पनि।

अप्रेसन साढे २ बजे सम्पन्न भएको थियो।

‘त्यसपछि डाक्टरहरुले १५ मिनेट कुरे। प्रत्यारोपण सफल भएको १० देखि २० मिनेटको अवधिमा पिसाब आएको अवस्थामा प्रत्यारोपण सफल भएको मानिन्छ। भयो त्यस्तै। प्रधानमन्त्रीको पिसाब आयो,’ प्रत्यारोपण टोलीका प्रा.डा. पवनराज चालिसेले भने।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको वर्णन गरिरहँदा उनका आँखा चम्किरहेका थिए।

‘देशकै सबैभन्दा शक्तिशाली व्यक्तिले सरकारी अस्पतालमा आएर मिर्गौला प्रत्यारोपण गर्दा उनको उपचारमा आफू पनि संलग्न हुन पाउँदा खुसी लाग्नु स्वभाविक हो,’ प्रत्यारोपणमा संलग्न प्राध्यापक डा. पवनराज चालिसेले भने, ‘तर खुसीसँगै जिम्मेवारी पनि बढेको सम्झन्छु।’

डाक्टरहरुले आपसमा खुसी साटासाट गर्न थाले।

‘हामीलाई एकदमै हर्ष लागेको थियो। जोखिमपूर्ण कामलाई हामीले सफल पारेका थियौँ,’ प्रा.डा चालिसले भने।हामी साधारण मानिसको प्रत्यारोपण गर्दै थिएनौं, देशकै उच्च पदस्थ व्यक्तिको प्रत्यारोपण गर्दै थियौं’ प्रत्यारोपण टोलीमा रहेका एक चिकित्सकले नेपालखबरसँग अनुभव साटे।‘अपरेटिङ बेड’ मा पल्टिनुअघि प्रधानमन्त्री ओलीले चस्मा निकाले र मुसुक्क हाँस्दै सानो स्वरमा भने, ‘सबै राम्रो हुन्छ।’चिकित्सकहरुले अलिकति हलुंगो महसुस गरे। सबैको मनोबल बढ्यो।त्यसपछि मुख्य काम सुरु भयो।

प्रधानमन्त्रीलाई बेहोस बनाइयो। अर्काे कोठामा समीक्षाको मिर्गौला निकालिसकिएको थियो।त्यसलाई ल्याएर प्रधानमन्त्रीकोमा प्रत्यारोपण गर्ने काम सुरु भयो। यो निकै लामो र जोखिमपूर्ण प्रक्रिया थियो।चार घण्टाभन्दा बढी समय लगाएर प्रधानमन्त्री ओलीकोमा नयाँ मिर्गौला जोडिसकियो।यतिबेलासम्म दिउँसो २ बजेको थियो।

फेरि एकपटक डाक्टरहरुले सबै प्रक्रिया राम्ररी हेरे। मिर्गौला जोडिएको भाग, नसाको अवस्था, रगत सञ्चालन प्रक्रिया लगायत सबैलाई राम्रोसँग नियालेपछि उनीहरुले भने, ‘एभ्रिथिङ इज वेल, क्रिटिकल अप्रेसन इज सक्सेसफुल।’

प्रतिक्रिया दिनुहोस्