काठमाडौं – बलिउडकी ‘बेबी डल’ सन्नी लियोनीले नेपाल आफूलाई संसारकै सबैभन्दा मनपर्ने देश रहेको बताएकी छिन् । आफूले पहिलो पटक काम गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरका लागि नेपाल आएकी उनले आफू नेपाल आउन पाउँदा निकै खुसी महशुस गरेको बताइन् ।
उनले भनिन्, ‘मलाई संसारकै सबैभन्दा मनपर्ने देश नेपाल हो । फेरि पनि नेपाल आउन पाउँदा एकदमै खुसी छु । साथै, नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा निकै गर्व महशुस भएको छ । फेरि पनि नेपाली फिल्म गर्ने बाचा गर्दछु ।’ उनले ‘पासवर्ड’ को सफलताको पनि कामना गरिन् ।
बिहीबार दिउँसो नेपाल ओर्लिएकी उनी साँझ करीब साढे ८ बजे फिल्मको प्रिमियरमा सहभागी हुन काठमाडौंको कुमारी हलमा पुगेकी थिइन् । प्रायः नेपाल आइरहने उनले आफू नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा पनि खुसी व्यक्त गरिन् ।
यो फिल्मको ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी उनले आफूले नृत्य गरेको गीत निकै राम्रो रहेको र धेरैपटक सुनेको बताइन् । फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आएकी अभिनेत्री लियोनी शनिबार दिउँसो स्वदेश फर्किँदैछिन् । उनी श्रीमान् डेनियल वेबरसँग नेपाल आएकी हुन् ।
प्रिमियरमा फिल्मका निर्देशक सम्राट बस्नेत, कलाकारहरु अनुपविक्रम शाही, विक्रम जोशी, परि राना, रविन्द्र झालगायत उपस्थित थिए । अभिनेता भुवन केसी, निर्देशक दीपश्री निरौला, निर्देशक दीवाकर भट्टराई, अभिनेता मनिष सुन्दर श्रेष्ठलगायत पनि फिल्म हेर्न हल पुगेका थिए ।
अधिकांश छायांकन लण्डनमा भएको ‘पासवर्ड’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । पशुपति परिसरबाट चोरिएर लण्डन पुर्याइएको बहुमुल्य मुर्ति नेपाल फिर्ता गर्न पात्रहरुले गर्ने संघर्षमा फिल्म आधारित छ ।
प्रतिक्रिया