संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठकमा आज ११ बजे बस्दैछ ।

आजको बैठकमा भारतको अतिक्रमणमा परेको कालापानीबारे संकल्प प्रस्ताव पेश हुने संसद सचिवालयले जनाएको छ । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले कालापानीबाट भारतीय सेना हटाउने विषयको संकल्प प्रस्ताव पेश गर्ने र सांसद रामकुमारी झाँक्रीले समर्थन गर्ने कार्यसूची रहेको छ ।
“भारत सरकारले नेपालको दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र
समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भुभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले” भन्ने विषयको सो संकल्प प्रस्ताव सचिवालयमा दर्ता भएको छ ।
आजको बैठकमा विश्वव्यापी बनिरहेको कोरोना भाइरसविरुद्ध पनि राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने विषयमा ‘जरुरी सार्वजनिक महत्व’को प्रस्ताव पेश हुने सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सो जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने र सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्ने कार्यसूची रहेको छ ।
“विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा
सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव सचिवालयमा दर्ता भएकाे छ ।














प्रतिक्रिया