Logo

नेपालमा होला मिस वर्ल्ड ?(हेर्नुहोस भिडियो सहित )

अध्यक्ष जुलिया, मिस वर्ल्ड सिंहले बिहीबार नै पर्यटनमन्त्री योगेश भट्टराईसँग कार्यक्रम आयोजनाका लागि प्रारम्भिक छलफल अघि बढाएका छन् ।संसारकै सुन्दरीहरूको सुन्दर प्रतियोगिता संसारकै सुन्दर देशहरूमध्येको सुन्दर नेपालमा गर्न हाम्रो तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ छलफलमा मन्त्री भट्टराईले आश्वस्त पारेका थिए ।

नेपाली सारीमा उपस्थित भएकी अध्यक्ष मोर्लेले मन्त्रीको आश्वासनपछि उत्साहित भएको बताएकी थिइन् । उनले प्रतियोगिता गर्न नेपालले उपलब्ध गराउन सक्ने स्रोतसाधन र सुरक्षाका बारेमा चासो राखेकी थिइन् । त्यसो त मिस वर्ल्डले यसअघि नै ७० औं वार्षिकोत्सवसहितको प्रतियोगिता थाइल्यान्डमा हुन सक्ने घोषणा गरेको थियो ।

भेटघाटमा मिस नेपाल वर्ल्डको आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारसहित मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडालगायत उपस्थित थिए । अध्यक्ष मोर्लेले विश्वका अन्य देशहरूभन्दा नेपाल सांस्कृतिक, भौगोलिक हिसाबले पनि मौलिक रहेको भन्दै मिस वर्ल्ड आयोजना गर्न इच्छुक रहेको भनाइ राखेको हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले कान्तिपुरसँग भने ।

‘उहाँहरू यहाँको आत्मीयता र आतिथ्यतादेखि खुसी हुनुहुन्छ । कार्यक्रम गर्न नेपालका तर्फबाट भौतिक पूर्वाधार र सुरक्षाका बारेमा चासो राख्नुभएको थियो,’ राजकर्णिकारले भने । मन्त्री भट्टराईले मिस वर्ल्ड आयोजना गर्दैगर्दा नेपालले पनि सगरमाथा, लुम्बिनीलगायत विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा संसारलाई सन्देश दिन सक्ने भएको भन्दै कार्यक्रम गर्न तत्परता देखाएका थिए । उनले आयोजकलाई कुराकानी अत्यन्त सकारात्मक देखिएको भन्दै प्रस्तावना पत्रसहित दोस्रो चरणको भेटघाटमा आउन आग्रह गरेका थिए ।

नेपाल बसाइका क्रममा जमैकाकी मिस वर्ल्ड टोनी शुक्रबार सिन्धुपाल्चोकको सोलसिङ र हेलम्बुगाउँपालिकाको हिमालयन ग्रेट ट्रेलको भ्रमण गर्नेछिन् । मिस नेपाल अनुष्काले २०७२ को भूकम्पपछि विस्थापित भएको यसै सोलसिङ गाउँका बासिन्दाको कठिन दैनिकी र पढ्न नपाएका केटाकेटीको अवस्थालाई लिएर तयार पारेको भिडियोले ‘ब्युटी विथ अ पर्पस’ को टाइटल जितेको थियो ।

मिस वर्ल्डले सोही क्षेत्रको भ्रमण गर्नुका साथै मकवानपुरको चेपाङ बस्तीको पनि भ्रमण गर्नेछिन् । २०१८ को मिस वर्ल्डमा नेपालकी शृंखलाले पनि चेपाङ बस्तीमै आधारित रही तयार पारेको भिडियोले ‘ब्युटी विथ अ पर्पस’ जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्