Logo

होलीका दिन यस्तो छ काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको तयारी !

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा ‘होली विशेष सुरक्षा योजना’ लागू गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै होली विशेष सुरक्षा योजना लागू गरिएको जनाएको हो ।

सुरक्षा योजनाअनुसार राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने भएको छ । होलीका दिन मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा ३ जना राखेर तिव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोसा तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको ब्यवस्था मिलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

त्यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न चोकहरूमा ‘सवारी तीव्र गतिमा नहाकौँ र मापसे गरी सवारी नचलाऔँ’ भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन हुने महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख ढकालले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोवाईल चेकिङ्ग गरिने समेत जानकारी दिए । उनले भने, ‘मुख्यतयाः उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमित बाहेक थप ट्राफिक प्रहरीहरू तथा मो.सा.मासमेत ट्राफिक प्रहरीहरू गरि जम्मा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिनेछ ।’

हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाई गरी सवारी साधन नचलाउनको लागि महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

त्यस्तै, सडक र सवारी प्रयोगकर्ताहरुलाई उपत्यकामा कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ वा ट्राफिक एफएम ९५.५ मेघाहर्ज सुन्नहुन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्