Logo

हेर्नुस् त कस्तो दु:ख साउदीमा कोरोना: युएईबाट जहाज चढेका यात्रु झर्नै पाएनन्

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि साउदी अरबले कडा कदमहरू चालेको छ। साउदी अरबमा सोमबारसम्म १५ जनालाई कोरोना भाइरस देखिएको छ। भाइरस फैलिन नदिन साउदीले विद्यालय र विश्व विद्यालय बन्द गरेको छ भने पाँच लाख जनसंख्या भएको कतिफ सहरका मानिसको आवातजावात रोकेको छ।

कोरोनाबाट धेरै प्रभावित ९ मुलुकका नागरिक र त्यहाँ ट्रान्जिट बसेर आउने विदेशीलाई पनि साउदी आफ्नो देश प्रवेशमा रोक लगाएको छ।

सोमबारदेखि उसले युएईबाट हुने सबै उडान पनि बन्द गरिदिएको छ। युएईको इतियाद एयरलायन्सले साउदी अरबका विभिन्न सहरमा दैनिक १२ उडान गर्ने गर्थ्यो।

सोमबार साउदी अधिकारीले उडान रद्द गरिएको सूचना निकाल्नुअघि पनि केही जहाज आवुधावीबाट साउदी अरबका विभिन्न सहर जानका लागि टेकअफ भइसकेका थिए।

अचानक साउदीले उडान रद्द गरेकाले अब ती तीन जहाजमा रहेका यात्रुले आवुधावी नै फर्किनु पर्ने भएको छ। रियाद, जेदाह, दमाम सहरमा ती जहाज अवतरण त हुनेछन् तर जहाजभित्र रहेका साउदी नागरिकमात्र बाहिर निस्कन पाउनेछन्।

इतियादले बाँकी यात्रु फर्किने र अब केही समयका लागि साउदी अरबमा उडान नहुने जनाएको छ।

फ्लाई दुबई, इमिरेट्स र एयर अरेबियाले पनि मार्च १२ सम्मका लागि साउदी जाने आफ्ना सबै उडान रद्द गरिएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्