Logo

गृहमन्त्री बादलका भाइद्वारा आत्मसमर्पण !


गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशले सुटुक्क आत्मसमर्पण गरेका छन् । डिल्लीबजार कारागारमा उनले एक साताअघि आत्मसमर्पण गरेको खुलेको हो ।कारागारका एक अधिकृतले अहिले नरेश अहिले कारागारमा रहेको पुष्टि गरेका छन् ।जिल्ला अदालत, काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न गरेको आदेश उच्च अदालत, पाटनले माघ तेस्रो साता बदर गरेको थियो ।

त्यसयता उनी फरार थिए, प्रहरीले पनि उनको खोजी गरेको थिएन ।उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई थुनामा राख्न आदेश गरेको थियो । अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भदौ अन्तिम साता उनलाई पक्राउ गरेको थियो ।

 

हाल केन्द्रीय कारागारमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको समूहका सदस्य पक्राउ परे छुटाउन सहयोग गर्ने आश्वसन दिएको आरोपमा नरेश पक्राउ परेका थिए ।निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जोहरी दिएपछि ब्युरोका डीएसपी निरञ्जन दत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो ।

जिल्लाले नरेशविरुद्ध स्पष्ट प्रमाण अभाव भएको भन्दै धरौटीमा छाड्न र अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, शैलेश प्रजापति, पवन खड्का र बीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो । यद्यपि, उच्चले नरेशलाई मात्र छाड्नुको कारणमाथि टेकेर थुनामा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्